

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता रहेको अलिकति मात्रै पनि पुष्टी भए आफू तत्कालै पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाए । यदि प्रतिक्रिया दिंदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनले बताए ।
तर एउटा संस्कारमा हुर्किएका कारण आफूले त्यसो नगरेको भन्दै डा. महतले भने, ‘जुन पछिल्लो घटना घट्यो पक्राउको । हुनुपर्थ्यो, पर्दैनथ्यो टाइमिङको प्रश्न छ ।’
डा. सुनिल शर्माको नाम नलिई उनले भने, ‘त्यसोभए जे उहाँले राख्नुभयो, त्यो उचित हो ?’ शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।
अर्थमन्त्री डा. महतले भने, ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ ।’
यदि आफूले लोभलालच राखेको भए कर निर्धारण अनेक गर्नसक्ने भन्दै उनले त्यस्तो नगरेको बताए । तर पार्टीभित्रबाटै लाञ्छना लागेको भन्दै मन्त्री डा. महतले असन्तुष्टि जनाए ।

अर्थ सन्जाल