सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

शर्मालाई सीआईबीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो। शर्माकै जस्तो समान कसुरमा पक्राउ परेका अरु ७ जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। शर्मा प्रतिनिधि सभा सदस्य समेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतले ठहर गरेको छ।

सीआईबीले नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसामा संलग्न रहेकाहरुविरुद्ध ‘अपरेसन फक्सट्रट’ सञ्चालन गरिएको जनाएको छ। उक्त अपरेशनका क्रममा कांग्रेस सांसद शर्मासहित शुक्रबार दिउँसोसम्म ८ जना पक्राउ परेका थिए। सीआईबीले पक्राउ परेकाहरुविरुद्ध ‘लिखत कीर्ते’को कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *