

काठमाडाैं । घट्दो क्रममा रहेको कर्जाको ब्याजदर अझै घट्ने देखिएको छ । अघिल्लो त्रैमासको तुलनामा गत असारमा प्रायः बैंक तथा वित्तीय संस्थाको आधारदर घटेकाले ब्याजदर घट्ने देखिएको हो ।
आधार दर (बेस रेट) बैंक तथा वित्तीय संस्थाको ऋणको ब्याज निर्धारण गर्ने आधार हो । आधार दरमा आएको परिवर्तनका आधारमा बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर बढाउने वा घटाउने गर्छन् । यसकारण आधार दर बढ्दा ब्याजदर महँगो हुन्छ भने घट्दा सस्तो ।
वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार गत असारसम्म ८ वटा वाणिज्य बैंकको आधार दर एकल अंक (१० भन्दा कम)मा झरेको छ । बाँकी १२ वटा बैंकको आधार दर भने १० प्रतिशतभन्दा माथि छ । राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ७.७९ प्रतिशत छ भने कुमारीको सबैभन्दा धेरै १०.९० प्रतिशत छ ।
गत असारसम्म राष्ट्रिय वाणिज्य, स्टान्डर्ड चार्टड, नेपाल इन्भेस्टमेन्ट मेगा, एभरेस्ट, नबिल, सिद्धार्थ, नेपाल र एनआईसी एसिया बैंकको आधार दर एकल अंकमा झरेको हो । २० वाणिज्य बैंकको औसत आधार दर १०.०५ प्रतिशतमा झरेको छ । जबकि चैत मसान्तसम्म औसत आधार दर १०.४८ प्रतिशत थियो भने ५ बैंकको मात्रै एकल अंकमा थियो ।
२०७९ असार मसान्तको तुलनामा भने औसत आधार दर बढी हो । २०७९ असार मसान्तमा बैंकहरुको औसत आधार दर ९.२२ प्रतिशत थियो ।
निक्षेपमा बैंकहरुले बचतकर्तालाई दिने ब्याजदर घटेकाले हालको ब्याजदर यथावत रहँदा आगामी दिनमा आधार दर थप घट्न जानेछ । लगानीयोग्य रकम (तरलता) अभावका कारण बैंकहरुले पुससम्म व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशतसम्म ब्याजदर दिँदै आएकोमा क्रमिक रुपमा घटेर हाल १० प्रतिशत हाराहारीमा झरेको छ ।
६ महिना अघि मुद्दती निक्षेपमा रहेको रकम अब परिपक्व भई नवीकरण हुँदा बैंकहरुले दिने ब्याज कम हुन्छ, जसले आगामी महिनामा आधार दर घट्दै जानेछ । निक्षेपको ब्याजदर थप बढ्न गएमा भने आधार दर महँगिन सक्छ ।
आधार दर कुन बैंकको कति छ ?
राष्ट्रिय वाणिज्य बैंक, ७.७९
स्टान्डर्ड चार्टर्ड, ९.०२
नेपाल इन्भेस्टमेन्ट, ९.३६
एभरेस्ट, ९.४७
नबिल, ९.५२
सिद्धार्थ, ९.९१
नेपाल बैंक, ९.९२
एनआईसी एसिया, ९.९८
कृषि विकास, १०.०६
सानिमा, १०.१५
प्रभु, १०.१६
ग्लोबल आईएमई, १०.२०
एनएमबी, १०.३७
सिटिजन्स, १०.५१
प्राइम, १०.५७
नेपाल एसबीआई, १०.७४
माछापुच्छ्रे, १०.७४
लक्ष्मी, १०.७५
हिमालयन, १०.८६
कुमारी, १०.९०
औसत, १०.०५

अर्थ सन्जाल