बैंकहरुको खराब कर्जा बढ्यो : ५ वटा बैंकको एनपीएल ४ प्रतिशत माथि, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा वाणिज्य बैंकहरूको उठ्न बाँकी ऋण अथवा खराब कर्जा (एनपीएल) बढेको छ ।  हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार अधिकाशं बैंकको खराब कर्जा बढेको छ । विशेष गरी पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंकहरूको खराब कर्जा अनुपात बढ्न पुगेको हो ।

पछिल्लो समय बैंकहरुको कर्जा विस्तारमा समेत संकुचन आइरहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकहरुको खराब कर्जा अनुपात १.४५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकहरुको खराब कर्जा औसत २.७१ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा खराब कर्जा १.२५ प्रतिशत थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्म पाँच वटा बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ । कुमारी, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम र प्रभुको बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ ।

गत आर्थिक वर्ष सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको रहेको छ । कुमारी बैंकको खराब कर्जा ३.६६ प्रतिशतले बढेर ४.७७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा १.११ प्रतिशतमा सीमित थियो ।

त्यसैगरी, दोस्रोमा हिमालयन बैंकको खराब कर्जा २.९८ प्रतिशतले बढेर ४.५७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको अन्त्यसम्म बैंकको यस्तो कर्जा १.५९ प्रतिशत थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निष्क्रिय कर्जा पनि २.८६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म १.४९ प्रतिशतमा सीमित रहेको एनपिएल गत आर्थिक वर्षको सोही अवधिसम्म ४.३५ प्रतिशत पुगेको छ ।

प्राइम कमर्सियल बैंकको खराब कर्जा पनि ४ प्रतिशतभन्दा माथि छ ।  प्राइमको खराब कर्जा २.४६ प्रतिशतले बढेर ४.२३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो कर्जा अनुपात १.७७ प्रतिशतमा सीमित थियो ।

प्रभु बैंकको पनि खराब कर्जा पनि ४ प्रतिशतभन्दा माथि छ । बैंकको खराब कर्जा २.३ प्रतिशतले बढेर ४.१६ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

त्यसैगरी नबिल बैंकमा १.५८ प्रतिशत बिन्दुले बढेर ३.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकको यस्तो कर्जा १.६२ प्रतिशत थियो ।

अघिल्लो आर्थिक वर्षमा २.२२ प्रतिशत रहेको सिटिजन्स बैंकको एनपीएल ३.१९ प्रतिशत पुगेको छ ।

ग्लोबल आइएमई १.८३ प्रतिशत बिन्दुले बढेर ३.०८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो कर्जा १.२८ प्रतिशतमा सीमित थियो ।

राष्ट्रिय वाणिज्य बैंकमा ०.८६ प्रतिशत बिन्दुले बढेर २.९५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको एनपीएल २.०९ प्रतिशत थियो ।

नेपाल बैंकको एनपीएल १.८३ प्रतिशतबाट बढेर २.८५ प्रतिशत पुगेको छ । यो बैंकको एनपीएल १.०२ प्रतिशतले बढेको त्रैमासिक रिपोर्टले देखाएको छ ।

लक्ष्मी सनराइज १.९२ प्रतिशत बिन्दुले बढेर २.८१ प्रतिशत कायम भएको छ भने एनएमबी १.२७ प्रतिशत बिन्दुले बढेर २.७२ प्रतिशत कायम भएको छ ।

कृषि विकास बैंकमा ०.३९ प्रतिशत बिन्दुले बढेर २.४८ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कृषि विकास बैंकको खराब कर्जा २.०९ प्रतिशत थियो ।

त्यस्तै नेपाल एसबिआई बैंकको एनपीएल २.२८ प्रतिशत बिन्दुले बढेर २.४३ प्रतिशत, माछापुच्छ्रे १.०५ प्रतिशत बिन्दुले बढेर २.१२ प्रतिशत र  सिद्धार्थ ०.९४ प्रतिशत बिन्दुले बढेर २.०१ प्रतिशत कायम भएको छ ।

यता सानिमा बैंकको खराब कर्जा ०.९७ प्रतिशत बिन्दुले बढेर १.३ प्रतिशत हुँदा स्ट्यान्डर्ड चार्टर्ड ०.६१ प्रतिशत बिन्दुले बढेर १.१७ प्रतिशत पुगेको छ ।

एनआइसी एसियाको एनपीएल ०.२७ प्रतिशत बिन्दुले बढेर ०.८० प्रतिशत र एभरेस्ट बैंकको एनपीएल ०.४४ प्रतिशत बिन्दुले बढेर ०.१७ प्रतिशत पुगेको छ ।

बैंकको वित्तीय विवरण हेर्दा सबैभन्दा कम खराब कर्जा एभरेस्ट बैंकको रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *