काठमाडौं । हाल सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
बैहरुको नाफा अघिल्लो वर्षको तुलनामा २४.९३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । १८ वटा बैंकले आफ्नो नाफा बढाएका छन् भने २ वटा बैंकको नाफा घटेको छ ।
बैंकहरुको त्रैमासिक रिपोर्टलाई लगानीकर्ताहरुले विशेष चाँसोका साथ हेर्ने गरेका छन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै लाभांशको सिजन सुरु हुन्छ । यसअर्थ पनि बैंकहरुको रिपोर्टमा लगानीकर्ताको विशेष चासो रहने गरेको छ । बैंकहरुले कति नाफा नाफा कमाए, बैंकहरुको प्रमुख सूचकको अवस्था कस्तो छ ? कति लाभांश दिन सक्छ ? यी कुरामा लगानीकर्ताहरुले विशेष रुपमा हेर्छन् ।
आज हामी बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा कसले कति लाभांश दिने क्षमता राख्दछ यसको बारेमा चर्चा गर्न गइरहेका छौँ ।
गत आर्थिक वर्षको वित्तीय विवरणलाई हेर्दा एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा उच्च देखिएको छ । एभरेष्टले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट साढे ४० प्रतिशत लाभांश बाड्ने क्षमता बनाएको छ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड ३२ लाख ५ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ छ । यसका आधारमा बैंकको यस वर्ष आफ्ना सेयरधनीहरुलाई ४०.५० प्रतिशत लाभांश दिन सक्नेछ ।
त्यसैगरी दोस्रो नम्बरमा एनआईसी एशिया बैंक देखिएको छ । दुई वर्षको सेयरधनीको हात खाली बनाएको एनआईसीले यस वर्ष भने ३१.९८ प्रतिशत लाभांश दिने सक्ने क्षमता बनाएको छ । हाल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ र चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले यस वर्ष झण्डै ३२ प्रतिशत लाभांश बाँड्न सक्नेछ ।
तेस्रो नम्वरमा रहेको स्टाण्डर्ड चार्टर्ड बैंकले २८.९९ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । गत आवमा बैंकको वितरयोग्य नाफा २ अर्ब २० करोड ९६ लाख ३६ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
चौथो नम्बरमा सानिमा बैंकले १७.७३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । हाल सानिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब २० करोड ९६ लाख ७४ हजार रुपैयाँ र चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ रहेको छ ।
पाँचौ नम्बरमा माछापुच्छ्रे बैंक १५.२९ प्रतिशत लाभांश बाँड्न सक्नेछ । माछापुच्छ्रेको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ रहेको छ। चुक्तापुँजी १० अर्ब २५ करोड रुपैयाँ रहेको छ । यस बैंकले अघिल्लो वर्ष लाभांश वितरण गर्न सकेको थिएन ।
कृषि विकास बैंकको लाभांश १४.९२ प्रतिशत रहेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई सो बराबरको लाभांश बाँड्न सक्नेछन् । हाल बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ लाख ५६ हजार रुपैयाँ र चुक्ता पुँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
नबिल बैंक भने लाभांश वितरण क्षमता १४.६३ प्रतिशत रहेको छ । हाल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड १० लाख ९९ हजार रुपैयाँ रहेको छ । यता, बैंकको चुक्ता पुँजी भने २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ ।
लाभांश क्षमताका आधारमा भने नेपाल एसबिआई बैंकले १३.९३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । हाल बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड १ लाख ५३ हजार रुपैयाँ र चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले भने ११.५९ प्रतिशत लाभांश वितरण गर्न सक्नेछ । हाल बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड २८ लाख ७३ हजार रुपैयाँ र चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
लक्ष्मी सनराइज बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत देखिएको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख ३१ हजार रुपैयाँ र चुक्ता पुँजी २१ अर्ब ६७ करोड २ लाख रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई बैंकको लाभांश क्षमता भने ८.२६ प्रतिशत रहेको छ । गत आवमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख ५६ हजार रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ रहेको छ ।
एनएमबि बैंकले यस वर्ष आफ्ना सेयरधनीलाई ८.१७ प्रतिशत, सिटिजन्स बैंकले ७.३० प्रतिशत, नेपाल बैंकले ६.६२ प्रतिशत, सिद्धार्थले ५.५४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएका छन् ।
त्यसैगरि प्राइम कमर्सियल बैंकले यस वर्ष १.०६ प्रतिशत, प्रभु बैंकले ०.६८ प्रतिशत, नपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.६९ प्रतिशत लाभांश वितरण सक्ने सामार्थ्य बनाएका छन् ।
कुमारी र हिमालयन बैंक लाभांश बाँड्न सक्ने अवस्थामा छैनन् । कुमारी बैंकको लाभांश ८४ करोड ८३ लाख ५ हजार रुपैयाँ ऋणात्मक छ । बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ रहको छ ।
हिमालयन बैंकको वितरणयोग्य नाफा ७१ करेड १४ लाख ६९ हजार रुपैयाँ ऋणात्मक छ । बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ ।




