काठमाडौं । हाल सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
बैहरुको नाफा अघिल्लो वर्षको तुलनामा २४.९३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । सो अवधिसम्म नबिल बैंकले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
नबिललाई ग्लोबल आइएमई बैंकले पछ्याएको छ । ग्लोबल आइएमईले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार नाफा कमाएको छ । ७ अर्ब भन्दा माथि नाफा आर्जन गर्ने पनि यी २ बैंक मात्र रहेका छन् ।
सबैभन्दा धेरै नाफा बढ्नेमा पनि नबिल बैंक रहेको छ । एक वर्षमा यसको नाफा ७६.८६ प्रतिशतले बढेको छ । सर्वाधिक नाफा कमाउने बैंकको तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड ७१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
एनआईसी एशिया बैंक ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफासहित चौथो स्थानमा छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ नाफसहित पाँचौँ स्थानमा छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ, एनएमबि बैंकको नाफा ३ अर्ब ४१ करोड ४ लाख ९९ हजार रुपैयाँ, नेपाल बैंकको ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ, एभरेष्ट बैंकको ३ अर्ब ३९ करोड ३१ लाख रुपैयाँ, हिमालयन बैंकको ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ३ अर्ब १९ करोड १ लाख र कृषि विकास बैंकको ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ रहेको छ । त्यसैगरी
प्रभु बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक र सिटिजन्स बैंकको नाफा २ अर्बभन्दा बढी छ । यी बैंकको नाफा क्रमश: २ अर्ब ८२ हजार ५२ लाख, २ अर्ब ६१ करोड ९२ लाख, २ अर्ब २६ करोड ३१ लाख ,२ अर्ब २४ करोड १६ लाख र २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
कुमारी बैंक र माछापुच्छ्रे बैंकको नाफा २ अर्बभन्दा तल रहेको छ । प्राइम र कुमारी बैंकको नाफा भने क्रमश: २४.१४ प्रतिशत र १८.८१ प्रतिशतले घटेको छ ।




