काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको नाफामा गिरावट आएको छ । इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको नाफा र वितरणयोग्य मुनाफा प्रभावित भएको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको खुद नाफा १७.०७ प्रतिशतले घटेर २ अर्ब २६ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २० करोड ४८ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अनुपात (एनपीएल) १.७७ प्रतिशतबाट बढेर ४.२३ प्रतिशत पुगेको छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब २३ करोड रुपैयाँबाट बढेर २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन मुनाफा १३.७८ प्रतिशतले घटेर ३ अर्ब ४० करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ९५ करोड रुपैयाँ थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १७.९५ प्रतिशतले बढेर ७ अर्ब २७ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोड रुपैयाँ रहेको थियो।
बैंकको जगेडा कोषमा ८ अर्ब ८० करोड रुपैयाँ सञ्चित छ । असार मसान्तसम्म बैंकले १ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ११.६६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.९४ रुपैयाँ थियो। पीई रेसियो १६.७२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६.४५ रुपैयाँ रहेको छ।




