काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले गत आर्थिक वर्ष २०७९/८० मा खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिसेयर २८ रुपैयाँ ९९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता २८.९९ प्रतिशत रहेको छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशतले बढेर ५ अर्ब ९५ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो ।
बैंकको सञ्चालन मुनाफा ५५.७९ प्रतिशतले बढेर ५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब २४ करोड रुपैयाँ थियो ।
यो अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) ०.५९ प्रतिशतबाट बढेर १.१७ प्रतिशत पुगेको छ ।
बैंकको खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज पनि बढेर १७ करोड २६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १३ करोड ४३ लाख रुपैयाँमा सीमित थियो।
९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ७४ करोड ७८ लाख रुपैयाँ सञ्चित छ। यो अवधिमा बैंकले १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३७.३९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २३.९२ रुपैयाँ थियो। पीई रेसियो १४.१८ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१३.९८ रुपैयाँ रहेको छ।




