काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा कृषि विकास बैंकले नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी (ईपीएस) दुवैमा वृद्धि भएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको नाफा ३९.२५ प्रतिशत बढेर ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँको उचाईमा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो
बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत घटेर ८ अर्ब ८ करोड रुपैयाँमा सीमित बनेको छ । कुल सञ्चालन आम्दानी, सञ्चालन मुनाफा बढेको छ भने इम्पेरमेन्ट चार्ज घटेको छ, जसको कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
खुद फि तथा कमिशन आम्दानी १३.२८ प्रतिशत घटेर १ अर्ब २२ करोड रुपैयाँमा खुम्चिएको छ । बैंकको कुल सञ्चालन आम्दानी ७.४४ प्रतिशतले बढेर १० अर्ब ४९ करोड २९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी ९ अर्ब ७६ करोड ६३ लाख रुपैयाँमा सीमित थियो ।
त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २६.०७ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब ६० करोड ४४ लाख रुपैयाँमा सीमित थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिसेयर १९ रुपैयाँ ८९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १९.८९ प्रतिशत रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। बैंकको यस्तो आम्दानी ६ रुपैयाँ २१ पैसा बढेर २० रुपैयाँ ६२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.३४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ६० पैसा रहेको छ।
१३ अर्ब ४५ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।




