काठमाडौं । ग्लोबल टी २० क्यानडामा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध सर्रे जगुवार्स प्लेअफमा पुग्न सफल भएको छ । सन्दीपकै उत्कृष्ट प्रदर्शनका कारण सरे जग्वार्सले सफलता पनि हात पारेको छ ।
सोही योगदानका कारण सन्दीप म्यान अफ दी म्याच पनि घोषित भए । सरे जग्वार्सले आफ्नो पछिल्लो खेलमा मिसिसाउगा प्यान्थर्सलाई आठ विकेटको फराकिलो अन्तरले हरायो । उक्त खेलमा सन्दीपले निकै किफायती बलिङ गर्दै चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको प्यान्थर्सले १४.३ ओभरमा सवै विकेट गुमाएर ५६ रन बनाएको थियो । प्यान्थर्सलाई सस्तोमा समेटन सन्दीपका अतिरिक्त इफ्तिखार अहमद र म्याथ्यु फोर्डले दुई—दुई विकेट लिए । आयान खान र अमार खालिदले पनि एक—एक विकेट हात पारे ।
प्यान्थर्सका दुई ब्याट्सम्यानले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । ओपनर श्रेयस मोभाले १७ र निखिल दत्ताले १० रन बनाए । जवाफी ब्याटिङमा ओर्लिएको सरेले नौ ओभरमा केवल दुई विकेट गुमाएर ५९ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
सरेका लागि ओपनर ब्याट्सम्यान मोहम्मद ह्यारिसले अविजित ३७ रन बनाए । विकेटकिपर ब्याट्सम्यान लिटन दासले १० रन जोडे । कप्तान इफ्तिाखार अहमदले अविजित आठ रन जोडे । सात खेलबाट १० अङ्क जोडेको सरे पहिलो स्थानमा छ ।
जारी सिजनको ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा सर्वाधिक विकेट लिने बलरको सूचिमा सन्दीप तेस्रो स्थानमा आसिन छन् ।




