आजदेखि काठमाडौंमा विद्युत् कटौती, कुन ठाउँमा कहिले ?

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउने तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि प्राविधिक काम गर्न भन्दै नेपाल विद्युत् प्राधिकरणले १२ दिनसम्म विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ।

प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा असोज १५ देखि २६ गतेसम्म चरणबद्ध रूपमा विद्युत् आपूर्ति बन्द गरिनेछ। सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म लाइन काटेर भूमिगत विद्युत् प्रणाली सञ्चालनमा ल्याउने तथा आवश्यक प्राविधिक काम गरिनेछ।

प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार असोज १५ गते सतुंगल–बौथली क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक, १७ गते मुलपानी, १८ गते गर्जुधारा, २० गते पुनः मुलपानी क्षेत्रमा लाइन काटिनेछ।

त्यस्तै, असोज २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरी आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइनसम्बन्धी काम गरिने प्राधिकरणले जनाएको छ।

मौसम प्रतिकूल भएमा भने निर्धारित विद्युत् कटौती नगरिने प्राधिकरणको भनाइ छ।

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ। पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली निर्माणको काम सुरु गरिएको थियो।

दोस्रो चरणमा काठमाडौं जिल्लाका बाँकी सहरी क्षेत्रमा, तेस्रो चरणमा ललितपुर र भक्तपुरका सहरी क्षेत्रमा तथा चौथो चरणमा पोखरा र भरतपुर महानगरपालिकाका क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने योजना अघि बढाइएको छ।

कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइनेछ। भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्ने तथा वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।

सहरी क्षेत्रमा विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकका तार जथाभावी र गुजुल्टिएर रहँदा देखिएको अव्यवस्था हटाउनसमेत भूमिगत प्रणालीले सहयोग गर्ने प्राधिकरणले जनाएको छ। यसबाट काठमाडौं उपत्यकाको सहरी सौन्दर्य बढ्नुका साथै आधुनिक र व्यवस्थित विद्युत् वितरण प्रणाली निर्माणमा सहयोग पुग्ने उसको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *