काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० मा खुद नाफा बढाएको छ । गत आर्थिक वर्षमा बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढेर १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ रहेको छ। बैंकको सेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ बढी रहेको छ। चुक्तापुँजी १० अर्ब २५ करोड रुपैयाँ रहेको बैंकको १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता देखिन्छ । यस बैंकले अघिल्लो वर्ष लाभांश वितरण गर्न सकेको थिएन ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारको प्रभाव नाफामा देखिएको छ । असार मसान्तसम्म खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको छ ।
बैंकको सञ्चालन मुनाफा ९.९१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ४५ करोड लाख रुपैयाँ थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकले १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.१२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.०४ प्रतिशत थियो । खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर ८२ करोड ३२ हजार रुपैयाँ भएको छ । अघिल्लो वर्ष पनि यस्तो चार्ज ५० करोड १२ लाख रुपैयाँले ऋणात्मक थियो।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १८.०५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.४४ रुपैयाँ थियो । मूल्य अनुपात आम्दानी (पीई रेसियो) १२.८४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९.१ रुपैयाँ रहेको छ।
बैंकको जगेडा कोषको आकार २४.०२ प्रतिशतले बढेर ४ अर्ब ४६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष जगेडा कोषमा ३ अर्ब ६० करोड रुपैयाँ रहेको थियो।







