

काठमाडौं । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको छ । नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्न लागेको हो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने छ ।
मंगलबार भारतीय आयल निगमबाट प्राप्त १५ दिनको मूल्य अनुसार डिजल र मट्टीतेलको मूल्य लिटरमा ७ रुपैयाँले बढेर आएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा साढे ८ रुपैयाँले बढेर आएको छ भने खाना पकाउने ग्याँसको मूल्य एक सय रुपैयाँले घटेर आएको छ ।
निगमका अनुसार असार ३१ गतेबाट लागू भएको स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार नै इन्धनको मूल्य समायोजन हुनेछ । जसअनुसार डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमै करिब १० रुपैयाँले बढ्नेछ ।
स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार डिजल, पेट्रोल र मट्टीतेलमा भारतबाट घटेर वा बढेर आएको मूल्यमा कर थपेर निगमले २ प्रतिशत मात्रै नाफा राखेर नयाँ मूल्य तोक्न पाउँछ । खाना पकाउने ग्याँसमा भने नाफा नराख्ने कार्यविधि छ ।

अर्थ सन्जाल