बैंकिङ कारोबार प्रविधिको प्रयोग बढ्दै: एक महिनामै थपिए झन्डै १८ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता

काठमाडौं । कुनै समय यस्तो पनि थियो, सानो रकम एक ठाउँबाट अर्को ठाउँमा पठाउन पर्यो भने पनि बैंकमै धाउनुपर्थ्यो । तर अहिले समय फेरिएको छ । प्रविधिले मानिसलाई सहज मात्रै बनाएको छैन । घण्टौँ लाग्ने कामहरु पनि प्रविधिको प्रयोगबाट छिनभरमै गर्न सकिन्छ । बढ्दो प्रविधिको प्रयोग र यसको विस्तारले अहिले धेरै काममा सहजता थपिएको छ ।

प्रविधिको प्रयोगले बैंकिङ कारोबारलाई पनि सहज बनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि पछिल्लो समय बैंकिङ सेवालाई थप विस्तारित एवं प्रविधिमैत्री बनाउँदै लगेका छन् । अहिले बैंकहरूमा पहिले जस्तो पैसा जम्मा गर्न, निकाल्न, रकमान्तर गर्नका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता छैन् । मोबाइल बैंकिङ, एटीएम, क्यास डिपोजिट मेसिन, डेबिट कार्ड, क्रेडिट कार्ड, क्यूआर पेमेन्ट जस्ता प्रविधिको आगमनले बैंकिङ प्रणालीमा सरलताका साथै सहजता ल्याएको छ ।

अहिले घरमै बसीबसी पनि एक ठाउँबाट सजिलै रकमान्तर गर्न सकिन्छ ।   धेरै पैसा बोकेर हिड्नुपर्ने झन्झट । न हराउन चोरी होला भन्ने डर नै । त्यसमा पनि बैंक पुगेर घण्टौँ लाइन बस्नै नपर्ने  । त्यसो हुँदा पछिल्लो समय युवापुस्ताहरु मोबाइल बैंकिङतर्फ आकर्षित हुन थालेका छन् । हात हात मोबाइल छँदैछ । घर घरमा इन्टरनेट पनि । त्यसैले प्रविधिको विकाससँगै पछिल्लो समय डिजिटल बैंकिङ कारोबार बढ्दो छ ।

पछिल्लो एक महिनाको अवधिमा मात्र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ८५ हजारभन्दा बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० जेठ मसान्तसम्म मोबाइल प्रयोगकर्ताहरुको संख्या वैशाख महिनाको तुलनामा बढेको हो ।

वैशाखमसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ७४ लाख २४ हजार ७३२ रहेको थियो । तर, जेठमसान्तसम्म आइपुग्दा यस्तो सङ्ख्या बढेर २ करोड ९२ लाख १० हजार ३२२ पुगेको छ ।

अघिल्लो जेठसम्म  मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १ करोड ८० लाख २० हजार ४६० मा सीमित थियो । बैंक जाने झन्झट पनि व्यहोर्नु नपर्ने घर, अफिस या जुनसुकै ठाउँबाट पनि इन्टरनेटको सहायतामार्फत नै कारोबार गर्न सकिने भएको हुँदा पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या दिनहुँ बढिरहेको छ ।

मोबाइल बैंकिङमार्फत जेठ मसान्तसम्म २ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको भुक्तानी (ट्रान्जेक्सन) भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो महिना वैशाखसम्ममा यस्तो ट्रान्जेक्सन २ खर्ब १० अर्ब १ करोड रुपैयाँ हारहारी भएको थियो ।

अघिल्लो वर्षको जेठ मसान्तसम्म मोबाइल बैंकिङमार्फत १ खर्ब २१ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको थियो ।

मोबाइल बैंकिङ मात्रै होइन इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको सङ्ख्या पनि बढ्दो ग्राफमा छ । जेठ मसान्तसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २ लाख ८६ हजार ६७३ पुगेको छ । वैशाख मसान्तसम्म यस्तो संख्या २ लाख ७६ हजार ९८५ थियो ।

यो अवधिमा डेबिट कार्डको प्रयोगकर्ता १ करोड १८ लाख ५५ हजार नाघेको छ । वैशाखसम्म यस्तो संख्या एक करोड १४ लाख ३३ हजार हाराहारी थिए । यो अवधिमा डेबिट कार्डमार्फत ८९ अर्ब ७८ करोड रुपैयाँ कारोबार भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

जेठसम्म २ लाख ६१ हजार ९०९ क्रेडिट कार्ड प्रयोगकर्ताले १ अर्ना ६७ करोड रुपैयाँको कारोबार भएको छ ।  भुक्तानीको साधन कनेक्ट–आइपीएस मार्फत ४ खर्ब १७ अर्ब २० करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

क्यूआर, वालेट, ई-कमर्श, एटिएम विथड्रवल प्रयोग गर्नेको संख्या पनि बढ्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *