मौद्रिक नीति प्रभाव : लगानीकर्ताको मनोबल खस्किँदा सेयर बजारमा निरन्तर गिरावट

आगामी साता के होला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्‍यो । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरीने जानकारी दियो ।

राष्ट्र बैंकले आइतबार मध्यान्हतिर सार्वजनिक गरेको मौद्रिक नीतिले सेयर बजारमा उछाल आयो । सोही दिन सेयर बजार बन्द भएपछि मौद्रिक नीतिबारे विस्तृत जानकारी गराउने उद्देश्यले राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्‍यो । पत्रकार सम्मेलनमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले सेयर, घरजग्गा र सवारीसाधन धितो कर्जाको जोखिम भारसम्बन्धी विद्यमान थ्रेसहोल्ड संशोधन गरिने बताए । गभर्नर अधिकारीले सेयर धितो कर्जामा ५० लाखसम्मको कर्जामा एक सय प्रतिशत जोखिम भार लागू हुने नयाँ व्यवस्था गर्न लागिएको जनाकारी गराए ।

तर लगानीकर्ताहरुले भने सेयर धितो कर्जाको जोखिम भारसम्बन्धी लगाइएको १५० प्रतिशतको सीमा घट्ने बुझेका थिए ।

गभर्नर अधिकारीले सेयर धितो कर्जाको जोखिम २५ लाखभन्दा सानो कर्जामा एक सय प्रतिशत जोखिम भार लागू हुने र त्योभन्दा बढीको हकमा एक सय ५० प्रतिशत लागू हुने यसअघिको व्यवस्थालाई संसोधन गरेर २५ लाखको थ्रेसहोल्डलाई रु ५० लाखसम्म बनाउन सकिने बताए ।

यसको मतलब ५० लाखसम्मको कर्जालाई मात्र १०० प्रतिशत जोखिम भार मान्न सकिन्छ ।

सेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरीने भनेपछि लगानीकर्ताहरु उत्साहित भएका थिए । तर गभर्नर महाप्रसाद अधिकारी पत्रकार सम्मेलनमार्फत दिएको प्रतिक्रियाले भने लगानीकर्ता चिढिएका थिए ।

आइतबार उछाल आएको बजारले त्यसपश्चात भने हरियालीको महसुस समेत गर्न पाएन ।  आइतबार मौद्रिक नीति सार्वजनिक भएको दिन अर्थात आइतबार ६३.२४ अंकले बढेको थियो ।  सो दिन नेप्से परिसूचक २२२७.१६ बिन्दुमा पुगेको थियो ।  आइतबार बजार ५२ हप्ता अघिको बिन्दु चुमेको थियो ।

सोमबार सेयर बजारमा करेक्सन आयो ।  सो दिन बजार मापक नेप्से २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा झर्यो ।

बजारको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पायो । यो दिन नेप्से ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा ओर्लियो । बजारको ओरालो यात्रा यतिमै सीमित रहेन । बुधबार पनि नेप्से ८.११ अंकले ओरालो लाग्यो । यो दिन २१५६.२० बिन्दुमा बजार बन्द भयो ।

बिहीबार अर्थात् अन्तिम कारोबार दिन नेप्से २९.७१ अंकले घटेर बन्द भयो ।  बिहीबार नेप्से परिसूचक २१२६.४८ को झरेको छ ।

यसरी हेर्ने हो भने मौद्रिक नीति सार्वजनिक भएपछिको पछिल्लो ४ कारोबारमा बजार १००.६८ अंकले ओरालो लागेको छ । अघिल्लो साताको तुलनामा सेयर बजार ३७.४४ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार १.३१ अंकले घटेर  २१६३.९२ बन्द भएको बजार यस साताको अन्तिम दिन (बिहीबार) सम्म आइपुग्दा विभिन्न उतारचढावका बीच २९.७१ नाकले घटेर २१२६.४८ बिन्दुमा बन्द भएको छ ।

कारोबार पनि सुस्तायो

मौद्रिक नीति सार्वजनिक भएपश्चात सुस्ताएको बजारमा कारोबार समेत घटेको छ । आइतबार ४ अर्ब ३० १ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको बजार सोमबार लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजार घटे पनि कारोबार भने बढेर ४ अर्ब ६२ करोड १७ लाख ८६ हजार रुपैयाँको उचाईमा पुगेको थियो ।

त्यसपश्चात भने कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार २ अर्ब ८५ करोड १३ लाख ४४ हजार रुपैयाँको कारोबार भयो ।

बुधबार र बिहीबार क्रमश: २ अर्ब २३ करोड ३६ लाख ३१ हजार र २ अर्ब ३६ करोड ९१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

अघिल्लो साताको अन्तिम दिन भने २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

कतिपय लगानीकर्ताहरुले भने मौद्रिक नीति सकारात्मक नै भए पनि ठूला लगानीकर्ताले बराम छर्दा त्यसको असर परेको बताउँछन् । घट्नु र बढ्नु बजारको प्रकृति नै रहेकोले आत्तिहनुपर्ने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् ।

बैंक तथा वित्तीय संस्थाहरुको रिपोर्ट पनि धमाधम सार्वजनिक हुन थालेको छ । त्यसो हुँदा बजारले बिस्तारै बुलको यात्रा तय गर्ने पनि कतिपय लगानीकर्ताहरु बताउँछन् ।  बजारको घटाइले लामो समय नलिने भन्दै अर्को सातादेखि बजार बढ्नेमा कतिपय लगानीकर्ताहरु विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *