‘चुनावमा चल्छ भोट, किन सुनिँदैन हाम्रो चोट ?’

पीडितहरु भन्छन्– घर फर्काैं लघुवित्तको ज्यादती सुरु भइहाल्छ, नजाऔं खर्च सकियो

काठमाडौँ । देशभरका लघुवित्त पीडितहरु वित्तीय शोषणका विरुद्ध आन्दोलित भएका छन् । लघुवित्तहरु संस्थाहरुले नवसामन्तीका रुपमा आहत बनाएको भन्दै यतिखेर विभिन्न जिल्लाका पीडितहरु लघुवित्त खारेजीको माग गर्दै काठमाडौँको माइतिघरमा आन्दोलनरत छन् ।लघुवित्त संस्थाहरूले बनाएको समूहमा बसेपछि गरिबहरूलाई फाइदा पुग्छ भनेर सुन्नेहरू मध्ये धेरै जना लघुवित्त संस्थाकै कारण घरबारी बेचेर सडकमा आउन बाध्य भएका छन् ।

कलाकुमारी महतो, पीडित

उनी हुन् सिरहाकी कलाकुमारी महतो ८ दिनदेखि लघुवित्त खारेज हुनपर्ने माग राख्दै माइतिघरमा धर्नामा छिन् । घरबारी सबै बेचेर लघुवित्तलाई बुझाउँदा समेत अझै उनको ऋण तिरिईसकेको छैन ।त्यस्तै बर्दीवास महोत्तरीका ७० वर्षे नन्दन विश्वकर्मापनि आफ्ना दिदीबहिनी दाजुभाई सबै लघुवित्तको पासोमा परेर उम्कन नसकेपछि असह्य पीडा बोकेर राजधानीमा गुनासो सुनाउन आइपुगेका छन् ।

नन्दन विश्वकर्मा,पीडित

कैलालीका धर्मराज जोशीको पनि पीडा कम छैन । बझाङबाट गरिखान भन्दै कैलाली झरेर लघुवित्तबाट ऋण लिएर अटो चलाउन शुरु गरेका जोशीले चर्को साँवा र ब्याज तिर्न नसकेपछि चलाइराखेको अटो रिक्शानै लघुवित्तलाई बुझाइदिए ।

धर्मराज जोशी,पीडित

गोरखाकी गीता गुरुङको पीडा पनि उस्तै छ। शुरुमा ऋण लिन हौस्याउने लघुवित्त संस्थाहरुले ऋण लिइसकेपछि चर्को ब्याज लगाउने, एक किस्ता तिर्न रोक्दा पनि गाली बेइज्जती गर्न थालेपछि आफु र आफुजस्ता धेरै गाउँका दिदीबहिनी घर छाड्न बाध्य भएको बताउँछिन् ।

गीता गुरुङ, पीडित

लघुवित्तको ऋणकै कारण सल्यानकी विष्णु घर्तीको श्रीमान श्रीमतीबीच सम्वन्धमा दरार पैदा भयो । सधैंको कुटाकुट हानाहानबाट दिक्दारिएकी विष्णु जती ब्याज र किस्ता बुझाउँदा पनि लघुवित्तको साँवा नघट्ने भएपछि २१ लाखको ऋणको भारी बोक्दै संघीय सरकारसमक्ष गुहार माग्न आइपुगेकी छिन् ।

विष्णु घर्ती,पीडित

लघुवित्तको ज्यादती विरुद्ध माइतिघरमा विगत ८ दिनदेखि आन्दोलनरत पीडितहरु कतिपयसँग खर्च सकिएको छ । घर जाउँ लघुवित्तको ज्यादती शुरु हुन्छ । नजाउँ काठमाडौँमा होटलको भात खाजा गर्दा खर्च सकिइसक्यो । कति त यो झरीमा रातभरीको दर्के झरीले निथु्रक्क रुझेर बस्दा बिरामी पर्न थालेका छन् ।

गुहार मागेको यतिका दिन हुँदा पनि सरकारले आफ्ना मागप्रति चासो नदिएकोमा पीडितहरुकोे गुनासो र आक्रोश छ । पीडितहरु भन्दैछन्–चुनावमा भोट चल्छ किन सुनिँदैन हाम्रो चोट ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *