माथिल्लो मैलुङ खोलाको आईपीओ आजबाट बिक्री खुला

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युतले आज साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ।

कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेकोहो। जसअनुसार १०० अंकित दरका कुल १० लाख कित्ता सेयर स्थानीयका लागि बिक्री खुला गरिएको छ।

स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अतिप्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दालाई बिक्री खुला गरिएको छ। २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिएको छ। यी क्षेत्रबाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीयका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर निष्कासन गरिएको छ।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गरिने १५ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ।

यो आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने छिटोमा साउन १८ गते र ढिलोमा भदौ १ गते बैंकिङ समयपछि हुनेछ। आईपीओको  बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *