काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनाको अवधिमा विकास बैंकहरुले ५ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउनदेखि २०८० जेठसम्ममा १७ विकास बैंकहरुले कुल ५ अर्ब १० करोड खुद नाफा गरेका हुन् ।
सर्वाधिक नाफा कमाउनेमध्ये मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा छ । मुक्तिनाथाले १ अर्ब ९ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी सर्वाधिक नाफा कमौनेको दोस्रो नम्बरमा गरिमा विकास बैंक रहेको छ । गरिमाले ११ महिनामा ८२ करोड २३ लाख खुद नाफा कमाएको छ ।
तेस्रो स्थानमा रहेको शाइन रेसुंगाको खुद नाफा ७० करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, अघिल्लो महिना चौथो स्थानमा रहेको लुम्बिनी विकास बैंकलाई पछि पार्दै महालक्ष्मी विकास बैंकले ६६ करोड ७७ लाख खुद नाफा कमाएको छ । लुम्बिनी भने पाँचौँ स्थानमा झर्दै ५२ करोड ४४ लाख खुद कमाएको छ ।
कामना सेवा विकास बैंकले ४३ करोड ५७ लाख नाफा कमाउँदा ज्योति विकास बैंकले ३७ करोड २१ लाख रुपैयाँ कमाएको छ । सांग्रिला बैंकको नाफा ३५ करोड २२ लाख रूपैयाँ रहेको छ ।
मितेरी डेभलपमेन्ट बैंकको नाफा १० करोड ७१ लाख रुपैयाँ छ भने ग्रीन डेभलपमेन्ट बैंकको ४ करोड ९५ लाख रुपैयाँ छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नोक्सानी सबैभन्दा धेरै २८ करोड ६२ लाख रहेको छ अघिल्लो महिना कर्णाली डेभलपमेन्ट बैंक नाफामा रहेकोमा यस महिना घाटामा गएको छ । कर्णालीले ९१ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
एक्सेल डेभलपमेन्ट बैंकको घाटा ८ करोड ९७ लाख, नारायणी डेभलपमेन्ट बैंकको ४ करोड ६ लाख , सिन्धु विकास बैंकको ७९ लाख र सालपा विकास बैंकको एक करोड ३६ लाख रहेको छ । त्यस्तै एक्सेलको खुद नोक्सानी ८ करोड ९७ लाख रहेको छ भने नारायणीको खुद नोक्सानी ४ करोड ६ लाख रहेको छ ।






