

गोरखा। प्रहरीले घरमा पुर्खादेखि पूजा गर्दै आएको ढुंगो बरामद गरेर लगेदेखि ७४ वर्षीया राममाया शाहीको मन बेचैन छ । न उनलाई खाना रुचेको छ नत कसैसँग बोल्न मन छ, एकोहोरो टोलाउने भएकी छिन् । प्रहरीले उनको ससुराको पालादेखि देउता मानेर पूजिँदैे आएको ढुंगो बरामद गरेर लगेदेखि उनको मुहारबाट हाँसो खोसिएको हो । राममाया रानो हराएको मौरी झैं हुँदै ढुनमुनिदै बेलाबेला जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको ढुंगो आँशु झार्दै पूजा गर्न पुग्छिन् ।
जब राममाया शाहीका छोरा सुरेश शाहीले हजुरबुवाको पालादेखिको घुम्टोले छोपेर राखेको ढुंगो हेर्ने निधो गरे, त्यसदिनदेखि शाहीको घर अशान्त बनेको छ । छ पुस्ता अगाडिदेखि उक्त ढुंगा आफ्नो घरमा रहेको सुरेशले सुन्दै आएपनि हेर्न भने पाएका थिएनन् । किनकि उनको ६ पुस्ता अघिकै हजुरबुवाको पालादेखि उक्त ढुंंगालाई कसैले नहेर्नु र नदेखाउनु भन्ने उर्दी थियो । आमाले कहिलेकाहीँ पूजा गर्दा थोरै केही टिलिक्क टल्केको बस्तु देखेका थिए सुरेशले ।
ढुंगो खोलेर हेरेदेखि सुरुभयो शाही परिवारमा तनाब
एकदिन आमाले पूजा गर्दै गर्दा सुरेशलाई ढुंगो हेर्रौ हेर्रौं लाग्यो । गएको चार महिनाअघि सुरेशले आफ्नो कौतुहलता सम्हाल्न सकेनन् र ढुंगाको सबै खोल उघारे र फोटो पनि खिचे। ढुंगामा अनौठो चमक थियो । ढुंगालाई बत्ती बालेर हेर्दा धपधप बलिरहेको थियो । त्यति ठूलो टल्किने ढुंगा बाजेबराजुको पालादेखि ढाकेर सुरक्षित राखिएकोमा अचम्मित भए उनी । अहिलेको आधुनिक जमानामा पनि यो अनौठो के चिज रहेछ थाहा पाउने इच्छा भयो उनलाई । जेत पर्ला भन्दै उनले यसको जानकार व्यक्ति वा कम्पनी खोजी गर्न थाले । त्यसपछि सुरु भयो शाही परिवारमा तनाब ।
शुरुमा सुदूरपश्चिम खनिज प्रालिको एउटा टोली उनको घरमा आइपुग्यो । उक्त टोलीले ढुंगा हेर्यो र महंगो बस्तु भएको भेउ लगाए र २० लाख रुपैयाँ शाही परिवारलाई दिने प्रस्ताव गरे । फेरि अर्को टिम आयो र ५० लाख दिने प्रस्ताव गर्यो । नचिनेका मान्छेहरूको बाक्लै आउजाउ हुन थालेपछि खबर एक कान दुई कान मैदान भयो । खबर प्रहरी कार्यालयसम्म पनि पुग्यो ।
प्रहरीले शाहीको घर खान्तलास ग¥यो र त्यस ढुंगा बरामद गरेर लग्यो । जिल्ला प्रहरी कार्यालयको अनुमानमा सो ढुंगा पचासौं करोड पर्नसक्ने महँगो क्रिस्टल हो ।
शाही परिवार भन्छन् – ‘ढुंगो आफ्नै ठाउँमा राखिनुपर्छ’
गत असार १४ गते बरामद भएको ५४ किलोग्राम तौल भएको सो महँगो क्रिस्टलको थप अनुन्धान प्रक्रिया भने सुरु भएको छैन। उक्त ढुंगालाई खानी तथा भूगर्भ विभागको प्रयोगशालामा परीक्षण गराउन लैजाने तयारी गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
क्रिस्टलका धनी शाही परिवारले भने आफ्नो पूर्खाको सम्पत्ति भएकाले यसलाई आफैले राख्नु पाउनु पर्ने माग रहेको छ । शाही परिवारले यसलाई हरेक वर्षको सिठीपूजा, सल्यानवेशी जात्रा, नुवाँकोटको देवीघाट जात्रा, बडादशैँको १५ दिन, चैत्रास्टमीमा पूजा गर्ने गरेका छन् । राममाया शाही आखाँभरी आँशु पार्दै भन्छिन् – ‘अब यसलाई हामी नै राख्न पाउँ ।’

अर्थ सन्जाल