काठमाडौं । बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज पनि अवरोध गरिएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहको फोहोर फाल्ने ठाउँ स्थानीयवासी आज पनि आन्दोलित छन् ।
‘बाटामा ५०–६० जना स्थानीय आज पनि सडकमा छन्,’ काठमाडौं महानगरपालिकाका वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले भने, ‘जग्गा अधिग्रहणको माग राखेर सडक अवरूद्ध गरिरहेका छन् । यसअघि भएका सम्झौताको १८ बुँदामध्ये अधिकांश पूरा भइसकेका छन्। अहिलेको मागचाहिँ हामी पूरा गर्न सक्दैनौं।’
उनले सिसडोलको व्यवस्थापनका लागि काम भइरहेको बताए । स्थानीयले भने अहिलेसम्म फोहोर व्यवस्थापनको कुनै काम नभएको बताएका छन् ।
आन्दोलनरत उनीहरूले फोहोर बोकेका गाडीलाई अगाडि बढ्न नदिन बाटो छेकेर बसेको प्रहरीले जनाएको छ । सरकार र काठमाडौं महानगरपालिकासित यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।







