

काठमाडौं । गत आर्थिक वर्षको राजश्व लक्ष्यभन्दा निकै कम उठेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएको सरकारले ४ खर्ब ४३ अर्ब कम राजश्व संकलन हुँदा ९ खर्ब ५७ अर्ब राजश्व संकलन भएको हो ।
अघिल्लो आर्थिक वर्ष सरकारले १० खर्ब ६७ अर्ब राजश्व संकलन गरेको थियो । तर यो वर्ष निक्कै कम मात्रै राजश्व उठेको हो । गत वर्षको तुलनामा १ खर्ब १० अर्ब कम राजश्व उठेको छ । यो ५० वर्षको इतिहासमा पहिलोपटक अघिल्लो आर्थिक वर्षको तुलनामा कम राजश्व उठेको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क नुसार सरकारले असार ३१ गतेसम्म सबैभन्दा धेरै कर राजश्व ८ खर्ब ६५ अर्ब संकलन गरेको छ । यस्तै गैरकर राजश्व ९१ अर्ब संकलन गरेको छ । अनुदानतर्फ सरकारले २१ अर्ब २९ करोड प्राप्त गरेको छ ।
सरकारले १४ खर्ब २९ अर्ब खर्चिएको छ । असार ३१ गतेसम्म सरकारको आम्दानीको तुलनामा खर्च ४ खर्ब ४३ अर्बले बढी हो । चालू खर्चतर्फ सरकारले १० खर्ब ५ अर्ब खर्चिएको छ । यो कूल राजश्व संकलन भन्दा ४८ अर्बले बढी हो ।

अर्थ सन्जाल