बिक्री गर्न ल्याइएको १४ सय किलोग्राम कुहिएको माछा नष्ट

दमक झापामा बिक्री गर्नका लागि ल्याइएका सडेगलेका माछाहरू नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको छ ।

पर्सा जिल्लाको रक्सौल नाकामा रहेको पशु क्वारेनटाइन गराएर भन्सार प्रक्रिया पूरा गरी आवश्यक कागज पत्रसहित ल्याएको अन्दाजी ४ लाख २० हजार मूल्यको १४ सय किलाेग्राम माछा सडेगलेको पाइएकाले नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।

पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ७५१० न.को माछा लोड रहेको पिक अप गाडी आफै अनियन्त्रित भई पल्टिएर माछा, आइस छरपस्ट भएपछि छरपस्ट भएका माछा बटुलेर अर्को गाडीमा हालेर ल्याएको पाइएको रिजालले जनाए ।

छरपस्ट भएको उक्त माछा पुनः ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरी पोस्ट माईधारबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्ने क्रममा रहु र कार्प जातको माछा सडेगलेको देखेपछि नियन्त्रणमा लिएको हो ।

उक्त माछा बोकेको गाडी नियन्त्रणमा लिई पशु क्वारेनटाइन कार्यालय गौरीगञ्जलाई जानकारी गराएर तत्कालै प्राविधिक बोलाइ जाँच गर्दा  माछा कुहिएर गन्हाउन थालिसकेकोले खान अयोग्य भनेपछि अयोग्य रहेका सबै माछा नष्ट गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *