कृषि बैङ्कद्वारा पहिरो पीडितलाई सहयोग उपलब्ध

ताप्लेजुङ। कृषि विकास बैङ्क ताप्लेजुङ शाखाले पहिरो पीडित परिवारलाई राहतस्वरुप एक लाख रुपियाँ रकम उपलब्ध गराएको छ। जिल्लाको सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि उक्त सहयोग रकम उपलब्ध गराएको हो।

बैङ्क शाखा प्रबन्धक जिरन बुढाथोकीले सिदिङ्वा गाउँपालिकाका प्रतिनिधि शिक्षा अधिकृत बिराज कट्टेललाई एक लाख रुपियाँको चेक हस्तान्तरण गरे । प्रबन्धक बुढाथोकीकाअनुसार बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सिदिङ्वा गाउँपालिकाका पहिरो पीडितलाई सहयोग गरिएको हो।

बैङ्कले उपलब्ध गराएको रकम सिदिङ्वा गाउँपालिकाको बिपद् व्यवस्थापन कोषमार्फत बाढीपहिरोका पीडित परिवारलाई वितरण गरिने शिक्ष अधिकृत कट्टेलले जानकारी दिए। गत असार पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोले सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा तीनजनाको मृत्यु भएको छ। यस्तै पहिरोमा परेर तीनजना बेपत्ता भएका छन्।

यता सिदिङ्वा गाउँपालिकाकाअनुसार यसपटकको वर्षा तथा बाढीपहिरोका कारण वडा १, २, ३, ६ र ७ बढी प्रभावित भएको छ भने गाउँपालिकाका सबै वडाहरुमा बाढी र पहिरोको प्रभाव देखिएको छ। गाउँपालिकाको तथ्याङ्कअनुसार २७ घरपरिवार बिस्थापित भएका छन् भने ५२ परिवार उच्च जोखिम र ८८ परिवार जोखिममा रहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *