काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफूले पत्रकारमाथि धम्कीपूर्ण भाषा प्रयाेग नगरेकाे बताएका छन् । विकास न्युज डट कमका प्रधान सम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएकाे जनाउँदै उनले समाचारकाे विषयमा चासाे व्यक्त गरेकाे सत्य रहेकाे बताएका छन् ।
प्रसाईंले ध्यानाकर्षणपत्रमा लेखेका छन्,’जीतबहादुर र लक्ष्मीबहादुरलाई माथ खुवाउँदै दुर्गा प्रसाईं शीर्षकमा असफल व्यवसायीहरुसँग तुलना गरेर मेरो चरित्र हत्या गरेकोप्रति मैले शुक्रबार साँझ ६:५५ बजे पौडेललाई फोन गरेर चासो राखेको सत्य हो । तर, मैले कुनै प्रकारको धम्कीपूर्ण भाषा प्रयोग नगरेको निवेदन गर्न चाहन्छु ।’ शुक्रबार साँझ फोनबाट पौडेललाई धम्की दिएको भए जस्तोसुकै सजाय भोग्न पनि आफू तयार तयार रहेकाे उनले बताएका छन् ।
समाचारका नाममा लेखिएको सो शीर्षकको सामग्री समाचार हो, टिप्पणी हो या विचार हो अध्ययन गरेर यसमा पनि स्पष्ट पारिदिन उनले नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनुरोध समेत गरेका छन् ।
मिडिया हाउसको दुरुपयोग गर्दै आफूमाथि भएको बार्गेनिङ र आफूले प्रधान सम्पादक पौडेलको प्रस्ताव नमानेपछि पौडेलले उल्टै आफूलाई नै धम्कीपूर्ण भाषा प्रयोग गरी पठाएका म्यासेज सुरक्षित रहेकाे प्रसाईंकाे भनाइ छ ।
व्यवसायी प्रसाईंले पत्रकार र मेडिया गलत ठहरिए आफूसँग भएको बार्गेनिङ र आफ्नाे चरित्रहत्याका लागि मिडिया इथिक्स भुल्दै लेखेको समाचारका कारण व्यावसायिक र सामाजिक जीवनमा पर्न गएको क्षतिको पूर्ति स्वयं विकास न्युज डट कमका प्रधान सम्पादक पौडेल र सत्यतथ्य नबुझी विज्ञप्ति जारी गर्ने इकोनोमिक मिडिया सोसाइटी नेपाल र नेपाल पत्रकार महासंघ ललितपुर शाखाले व्यहोर्नुपर्छ कि पर्दैन ? भन्दै प्रश्न पनि गरेका छन् ।




