नेपाल टेलिकमद्वारा हुलाक सिम डेलिभरीको सुरुवात

काठमाडौँ। नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्नसक्ने भएका छन् । बुधवारदेखि नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा उक्त सेवा सुरु गरिएको छ। बुधवार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले सेवा शुभारम्भ गरेका हुन् ।

मन्त्री तिमल्सिनाले हुलाक सेवामार्फत सिमकार्ड समेत लिए। सेवा शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए। उनले सेवाग्राहीलाई तोकिएको समयभन्दा अगावै सिमकार्ड पुर्‍याउने प्रयास गर्न र वितरणमा लाग्ने समय तथा सेवाग्राहीको सन्तुष्टिका आधारमा सेवामा सुधार गर्दै लैजानुपर्नेमा समेत जोड दिए। उनले हुलाक सेवाको क्षमता विस्तार गरी भविष्यमा एक–दुई दिनको सट्टा केही घण्टाभित्रै सामग्री डेलिभरी गर्न सक्ने गरी हुलाकको क्षमता विस्तार गरिने समेत बताए।

उनले भने, ‘हुलाकको आफ्नै स्ट्रेन्थ पनि छ, लिमिटेसन पनि छ । आफ्नो स्ट्रेन्थको अधिकतम उपयोग गरेर तपाईँहरूले प्लान गर्नुभएको समयभन्दा अगाडि पुर्‍याउन कोसिस गर्नुहोला । हामीले विस्तारै हुलाक सेवालाई थप प्रभावकारी पनि बनाउँदैछौँ । हुलाकको क्षमता विस्तार पनि गर्दैछौँ । भोलिको दिनमा एक दुई दिनमा नभई केही घण्टाभित्रै डेलिभरी गर्नसक्ने गरी यसको क्यापासिटी बिल्ड गर्नुपर्छ ।’

सरकारी स्वामित्वका नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्यबाट टेलिकमको सेवा नागरिकको पहुँचमा पुर्‍याउन सहज हुने उनको विश्वास छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले हाल कम्पनीले कार्यालय र डिलरहरुमार्फत सेवा उपलब्ध गराइरहेकोमा अब सेवाग्राहीको घर घर सम्म पुग्न समेत सहज भएको र यो कम्पनीका लागि एक कोशेढुंगा भएको बताइन्। उनले यसबाट सुगम क्षेत्र मात्र नभई सडकको पहुँच नभएका ग्रामीण क्षेत्रमा समेत सेवा उपलब्ध गराउन सकिने र आगामी दिनमा अन्य सेवाहरु समेत ग्राहकको घरदैलोमै पुर्‍याउनका लागि आवश्यक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन।

हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले ग्रामीण क्षेत्रमा नेपाल टेलिकमका सेवा उपलब्ध गराउनका लागि हुलाकको भूमिका महत्वपूर्ण हुने बताउदै दुई संस्थाबिच आगामी दिनमा अन्य सेवा वितरणका लागि समेत सहकार्य गर्न सकिने बताइन्।

यो सेवा प्राप्त गर्नका लागि सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको (Postal SIM Portal) मा क्लिक गरे पश्चात दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ । यसमा व्यक्तिगत विवरण अन्तर्गत पूरा नाम, जन्म मिति, ठेगाना र नजिकको ल्यान्डमार्क लगायतका विवरण उपलब्ध गराउनु पर्नेछ । त्यसैगरी प्रोफाइल फोटो र नागरिकता/राहदानीको अगाडि–पछाडिको स्पष्ट फोटो अपलोड गरी आफ्नो नजिकको नेपाल टेलिकमको काउन्टर छनोट गरी आवेदन पेश गर्नुपर्छ ।

त्यसपछि नेपाल टेलिकमबाट कागजात जाँच हुनेछ र यसको वारेमा एसएमएस मार्फत जानकारी दिइनेछ । आवेदन स्वीकृत भएमा भुक्तानी चरणमा अगाडि बढ्न सकिन्छ र सुधार आवश्यक भएमा आवश्यक विवरण सच्याउन सकिन्छ । त्यस पश्चात आवेदन स्वीकृत भएपछि सिम शुल्क र हुलाक डेलिभरी शुल्क मिलाएको जम्मा रकम अनलाइनमार्फत बुझाउन सकिन्छ । सिमका लागि रु. ९० र हुलाक डेलिभरीका लागि रु. ७० शुल्क लाग्ने छ । उक्त रकम जुनसुकै बैंकिङ एप वा डिजिटल वालेटबाट स्क्यान गर्न वा नमस्ते पेबाट सिधै भुक्तानी गर्न सकिन्छ ।

भुक्तानी सम्पन्न भए पश्चात नेपाल टेलिकममार्फत मोबाइल नम्बर तोकी सेवाग्राहीलाई एसएमएस र इमेलमार्फत डेलिभरी कन्फर्मेसन र एक्टिभेसन कोड पठाइन्छ । उक्त एक्टिभेसन कोड सम्बन्धित ग्राहकले सुरक्षित राख्नु पर्छ र पछि सिम सक्रिय गर्न यो अनिवार्य हुन्छ । त्यसपछि सेवाग्राहीको नजिकको हुलाक कार्यालयबाट सिम पठाइनेछ । सो सिम कहाँ पुग्यो भन्ने वारेमा समेत ट्रयाकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

हुलाक कर्मचारीले सेवाग्राहीको घरैमा सिम पुर्‍याई दिने छन् । सो अवस्थामा सेवाग्राहीले आफ्नो मोबाइल नम्बर र आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ। यसरी उपलब्ध भएको सिम दुई तरिकाले सक्रिय गर्न सकिने छ।

पोर्टलमा लगइन गरी एक्टिभेसन कोड प्रविष्ट गरेर वा नयाँ सिमबाट *1414# डायल गरे पश्चात सिम सक्रिय हुनेछ। हुलाक सिम सेवा रजिस्ट्रेसन देखि सिमकार्ड प्राप्ति सम्मको विस्तृत प्रक्रिया https://www.ntc.net.np/post/nt-postal-online-sim-service लिंकमा उपलब्ध म्यानुअलबाट प्राप्त गर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *