काठमाडौं । कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन विमानस्थलबाट फर्काएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले भिसा शंकास्पद रहेको भन्दै बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो ।
विभिन्न म्यानपावर कम्पनीमार्फत कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो । फर्काइएकामध्ये करिब आधा महिला पनि छन् ।
श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि उनीहरुलाई फर्काइएको अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए । ‘घरेलु श्रमिकका रुपमा नेपालबाट कुवेतमा जान मिल्दैन, तर फरक–फरक भिसाका कागज बनाएर म्यानपावर कम्पनीले लागेको पुष्टि भएपछि उहाँहरुलाई प्रस्थान अनुमति नदिएका हौं,’ उनले भने, ‘करिब ८० जना श्रमिकले हामीलाई नै भिसाबारे अनुसन्धान गरिदिन आग्रह गर्नुभएको छ ।’
४ दिनअघि पनि जोर्डन जान लागेका १५ जना श्रमिकलाई अध्यागमनले कागजात शंकास्पद रहेको भन्दै रोकेको थियो । तर, पछि श्रमिकले पेश गरेका कागजातमा कुनै कमजोरी नभएपछि जान दिइयो ।
फर्काइएकाहरूमा इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी श्रम स्वीकृति लिएर हिंडिसकेका श्रमिकलाई विना कारण रोकेर दुःख दिने काम मात्रै भइरहेको बताउँछन् । उनले भने, ‘भिसा र टिकट प्रमाणित गरेर पठाउँदा पनि राज्यले रोकेको छ । सरकारी कर्मचारीको मिलेमतोमा नै रोकिएको हो । विभागबाट स्वीकृति लिएर प्रमाणित नै गरिएको छ । तर, कर्मचारीले सन्कीकै भरमा उड्न ठिक्क परेका नेपाली श्रमिक विदेश जान पाइरहेका छैनन् ।’




