

काठमाडौं । झण्डै एक वर्षदेखि घरजग्गाको कारोबार ठप्प छ । आर्थिक मन्दीको प्रमुख कारण मध्येको एक घरजग्गा कारोबारमा छाएको मन्दी पनि हो । मन्दीले संस्थागत रुपमा घरजग्गा व्यवसाय गर्नेहरु प्रभावित हुन थालेका हुन् । कति त चर्को बैंकको व्याज तिर्न नसकेर आधा मूल्यमा घर जग्गा बेच्न खोज्दा पनि नसकेपछि कालो सूचिमा पर्न बाध्य छन् । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार केन्द्रको ऋण नतिर्ने ऋणीको कालोसूचिमा पर्नेहरु अधिकांश घरजग्गा कारोबारीहरु छन् ।
एकातिर घरजग्गाको मूल्य घटेको छ अर्कोतिर वित्तीय संस्थाले निरन्तर ब्याज बढाइरहेको छ । मालपोत कार्यालयहरुमा न त घरजग्गा नामसारी हुन सकेको छ,अधिकांश मालपोत कार्यालयहरु सुनसान छन् । अहिले बजारमा सस्तोमा घरजग्गा बेच्नहरु जतीपनि छन् तर ग्राहक छैनन् । बैंकबाट घरजग्गामा दिँदै आएको कर्जामा कडाई गरेपछि यो कारोवार सुक्न पुगेको हो । अधिकांशलाई एउटै पीर छ । मेरो घरजग्गा बैंकले लिलाम गर्ने भो । कतिले त ऋण तिर्न नसकेर हात उठाइसकेका छन् । घर धितो राखेर दिएको कर्जा उठाउन बैंकलाई नै सास्ती भएको छ ।
बैंकले लिलाम सूचना निकालेपछि कतिपय आफैंले सामान निकालेका छन् । कतिपयले स्थानीय प्रशासनलाई साक्षी राखेर सामान निकाल्ने काम गरिरहेका छन् । मानिसहरुसँग पैसा छैन, बैंकबाट ऋण पाइँदैन,आयस्रोत खुम्चिएको छ । दुई वर्षअघि १ करोड मूल्याकंन भएका घर जग्गा आधा घटाएर दिन खोज्दा पनि किन्ने मान्छे नभेटिने अवस्था छ । मानिसहरुको भएभरको लगानी घरजग्गामा अड्किँदा पैसाको सर्कुलेसन बिग्रिएको छ । घरजग्गा व्यवसाय चलायमान नहुँदा समग्र अर्थतन्त्रमा प्रहार गरेको भन्ने प्रमाणित हुन थालेको छ ।
गत वर्ष राष्ट्र बैंकले जम्मा धितोको अधिकतम ३० प्रतिशत मात्र कर्जा प्रवाह गर्ने नीति अघि पार्यो । यो नीतिले बैक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा (आभेरड्रफ्ट), धितो कर्जा (मोर्टेज लोन) सम्पत्ति कर्जा (प्रोपर्टी लोन) व्यक्ति आवधिक कर्जा, लगायत जुनसुकै शीर्षकमा व्यक्तिगत प्रयोजनका कर्जाहरू प्रति ग्राहक ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।जुन व्यवस्थाले गर्दा पनि घरजग्गा कारोबारीहरु आहत बन्न पुगेका हुन् ।
के गर्न सक्छ त राष्ट्र बैंकले ?
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तरखर गर्दैछ ।साउन को पहिलो हप्ता मौद्रिक नीति ल्याउने तयारीमा जुटेको राष्ट्र बैंकले आर्थिक मन्दी हटाउन सबैभन्दा बढी योगदान दिने क्षेत्र घरजग्गा व्यवसायलाई पहिलो प्राथमिकतामा राख्दै कारोबारीका सुझाव ग्रहण गरेको छ । घरजग्गा व्यवसायीहरुले वर्तमान अवस्थामा रियल इस्टेट सेक्टरले भोगिरहेको समस्या समाधानका लागि पहल गर्न राष्ट्र बैंकसँग माग गरेका छन् । महासंघका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले गभर्नर मौद्रिक नीतिमा सुझाव दिने क्रममा राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर ‘लोन टु भ्यालु रेसियो’ बढाउन आग्रह गरेका छन्। लोहनी नेतृत्वको घरजग्गा व्यवसायीको टोलीले यो रेसियोलाई ७० प्रतिशत पु¥याउन माग गरेका छन्। अहिले उद्देश्य नखुलेकाहरुको हकमा ‘लोन टु भ्यालु रेसियो’ काठमाडौं उपत्यका भित्र ३० र बाहिरको हकमा ४० प्रतिशत छ। त्यस्तै व्यवसायीहरुले किस्ताबन्दीमा घरजग्गा किन्नेहरुको किस्ता मूल्यांकन बढाइदिन माग गरेका छन् । त्यस्तै अहिले घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा कायम जोखिम भार १५० प्रतिशतलाई घटाएर १०० प्रतिशत कायम गर्न आग्रह गरेका छन्।
घरजग्गा कर्जामा जाने रकम फ्रिज भएको छ : चिन्तामणि शिवाकोटी,सदस्य,राष्ट्र बैंक सञ्चालक समिति
नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्य एवं पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकले चाहे आगामी मौद्रिक नीतिमार्फत घरजग्गा क्षेत्रमा छाएको मन्दी चाँडै खुलाउन सक्ने बताएका छन् । उनले घरजग्गा व्यवसायमा परेको असरलाई राष्ट्र बैंकले नजिकबाट नियालिरहेको बताउँदै त्यसका लागि जग्गाको सरकारी मूल्यमा ७० प्रतिशत र बजार मूल्य ३० प्रतिशत गरेर फेयर मार्केट भ्याल्यु बनाउन सकिने र सोही बमोजिम ७० प्रतिशतसम्म बैंकबाट कर्जा दिन सकिने व्यवस्था गरे घरजग्गा कारोबारले चाँडै लय लिने बताउँछन् ।
उनी भन्छन्–‘काठमाडौंका हाउजिङलाई भ्याल्युएसन गरेर ३० प्रतिशतभन्दा बढीसम्म कर्जा दिन सकिन्छ । काठमाडौं बाहिरको हकमा घरजग्गामा ४० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिन्छ । अहिले ३९.५ अर्ब बराबरको घरजग्गामा जाने कर्जा रकम बैंकहरुमा फ्रिज भएर बसेको छ । यसले त व्यापक रोजगारी सृजना हुन्छ,सिमेन्ट, बालु्वा ,रोडा,फलामजस्ता उद्योगको कारोवार बढ्छ।’ ‘निर्माण क्षेत्रलाई चलायमान बनाउन पनि घरजग्गा क्षेत्रलाई खुकुलो नीत ल्याउनुपर्ने छ ।’
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपालको घरजग्गा व्यवसायमा साढे ५ खर्बभन्दा बढी लगानी रहेको बताएका छन् । पछिल्लो समय देशको कूल गार्हस्थ उत्पादन ४८ खर्ब बढी रहेका बेला घरजग्गामा साढे ५ खर्ब रुपैयाँ मात्रै लगानी रहेको उनले बताएका हुन् । १३ वर्षको अवधिमा कूल लगानीमा ब्यापक वृद्धि भएपनि घरजग्गा व्यवसायमा भने थोरै मात्रै लगानी बढेको उनले बताए । उनका अनुसार कूल लगानीको घरजग्गामा ११ प्रतिशत लगानी पुगेको भएपनि सरकारले चासो नदिएको बताउँछन् ।
घरजग्गा कारोवारमा बैंकबाट प्रवाह भएको कर्जा
सरकारले घरजग्गा कारोबारमा सहज बनाउने निर्णय गरेपनि कारोबार उत्साहजनक देखिएको छैन । कर्जा प्रवाहमा कडाई हुँदा पनि कारोवार सुस्ताएको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा चैतको तुलनामा वैशाखमा ह्वात्तै घटेको छ ।चैत महिनामा साउनपछि उच्च कर्जा प्रवाह भएको थियो । चैतमा बैंक तथा वित्तीय संस्थाहरुले ७ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्कले उल्लेख गरेको छ । तर, वैशाखमा कारोबारमा कमी आएसँगै कर्जा पनि न्यून प्रवाह भएको देखाएको छ ।वैशाख महिनामा २ अर्ब २८ करोड २६ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह छ ।
जुन चैतको तुलनामा ६९.६० प्रतिशतले कमी हो । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको साउन महिनामा १६ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । साउनपछि भने कर्जा प्रवाह निरन्तर घटेको पाइन्छ ।चालु अावकाे साउनमा १६ अर्ब रुपैयाँ कर्जा प्रवाह हुँदा भदौमा १ अर्ब ९६ करोड ७० लाख रुपैयाँ, कात्तिकमा ६६ करोड ५२ लाख रुपैयाँ, पुसमा २ अर्ब ५० करोड ६६ लाख रुपैयाँ, माघमा २ अर्ब ५९ करोड ५७ लाख रुपैयाँ र फागुनमा १ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।तर, मंसिर र पुसमा भने रियल स्टेट क्षेत्रमा कर्जा प्रवाह भएको देखिँदैन । साथै, असोज महिनामा डेढ करोडसम्मको आवासीय व्यक्तिगत कर्जा प्रवाह भएको थिएन ।

रुपा घिमिरे