आफ्नै सेयर रहेको प्रभु बैंकमा एसियन लाइफको ३ अर्बबढी निक्षेप, संस्थागत सुशासनकै धज्जी

काठमाडौं । संस्थागत सुशासनको धज्जी उडाउँदै एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियमविपरीत प्रभु बैंकमा ३ अर्ब ९ करोड रुपैयाँभन्दा बढी संस्थागत निक्षेप राखेको पाइएको छ। नेपाल बीमा प्राधिकरणको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाले स्वार्थ जोडिएको बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्न निषेध गरे एसियन लाइफ इन्स्योरेन्सले भने प्रभु बैंकमा अर्बौं रुपैयाँ निक्षेप राखेको हो। प्रभु बैंकको सबैभन्दा ठूलो सेयरधनी रहेको एसियन लाइफ आँफैले आफ्नै स्वार्थ जोडिएको बैंकमा बीमितको रकम राखेपछि संस्थागत सुशासनमाथि प्रश्न उठेको छ।

प्रभु बैंकमा एसियन लाइफको सेयर स्वामित्व पछिल्लो समय बढेर ५.६३ प्रतिशत पुगेको छ। यससँगै कम्पनी बैंकको सबैभन्दा ठूलो सेयरधनी बनेको छ। बैंकका अन्य ठूला सेयरधनी गौरव अग्रवालको २.७१ प्रतिशत र कर्मचारी सञ्चय कोषको २.५३ प्रतिशत सेयर स्वामित्व रहेको छ।

नेपाल बीमा प्राधिकरणको ‘बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८०’ को दोस्रो संशोधन, २०८२ को दफा ३७ ले सञ्चालक वा निजको एकाघरको परिवारको वित्तीय स्वार्थ भएको बैंक तथा वित्तीय संस्थामा बीमकको रकम निक्षेपका रूपमा राख्न निषेध गरेको छ। तर, एसियन लाइफले उक्त व्यवस्थाविपरीत प्रभु बैंकमा अर्बौं रुपैयाँ राखेको छ।

नेपाल बीमा प्राधिकरणको ‘बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८०’ (दोस्रो संशोधन, २०८२) को परिच्छेद ७ ले बीमकले गर्न नहुने काम स्पष्ट रूपमा तोकेको छ। निर्देशिकाको दफा ३७ अनुसार सञ्चालक वा निजको एकाघरको परिवारको वित्तीय स्वार्थ रहेको बैंक तथा वित्तीय संस्थामा बीमकले आफ्नो रकम निक्षेपका रूपमा वा अन्य कुनै पनि तरिकाले जम्मा गर्न वा राख्न पाउँदैन।

त्यस्तै, दफा १३ ले सञ्चालकलाई आफ्नो वित्तीय स्वार्थ जोडिएको कारोबारमा संलग्न हुन रोक लगाएको छ। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बीमकको हितविपरीत हुने गतिविधिमा संलग्न हुनसमेत निषेध गरिएको छ। दफा ३९ ले बीमकका सम्पूर्ण कामकारबाही व्यावसायिक, पारदर्शी र संस्थागत सुशासनका सिद्धान्तअनुरूप सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ।

 

यी स्पष्ट कानुनी प्रावधान हुँदाहुँदै एसियन लाइफले प्रभु बैंकमा अर्बौं रुपैयाँ निक्षेप राख्नुले निर्देशिकाको पालना र कम्पनीको जवाफदेहितामाथि गम्भीर प्रश्न उब्जाएको छ।

यस विषयमा नेपाल बीमा प्राधिकरणले हालसम्म पनि कुनै चासो देखाएको छैन । नियमित रूपमा वित्तीय विवरण र परिपालन प्रतिवेदन लिने नियामकले यति ठूलो रकमको निक्षेपबारे किन चासो देखाएन ? भन्ने बिषय आम चासो बनेको छ भने बीमितको रकम स्वार्थ बाझिने संस्थामा राखिएको विषयमा एसियन लाइफको व्यवस्थापनसँगै बीमा प्राधिकरणको नियामकीय निगरानीमाथि पनि प्रश्न उठेको छ।

बैंक  स्रोतका अनुसार प्रभु बैंकमा उक्त निक्षेप सञ्चालक समितिको निर्देशनमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले राखेका हुन्। श्रेष्ठ यतिबेला  राजीनामा दिएर बाहिरिसकेका छन् । यहि कात्तिक ५ गते बसेको कम्पनीको सञ्चालक समितिको २३३औं बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । हाल नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायममुकायम सीईओको जिम्मेवारी दिइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *