काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा क्याप्टेन सीबी गुरुङ र अन्य ५ जना मेक्सिकोका नागरिकहरु छन् । ‘६ जनाकै शव फेला परेको छ । एक जनाको शव टुक्राटुक्रा भेटिएको छ,’ उनले भने, ‘हेलिकप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको देखिन्छ।’
घटनास्थलमा नेपाल प्रहरीका असई निराजन बस्नेतको टोली पुगेको छ । शव संकलन गर्ने काम भइरहेको डिआइजी बास्तोलाले बताए ।
बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो । उक्त हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो । तर सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरीको टोली परिचालन गरिएको थियो ।







