जलस्रोत विकासमा सहकार्य गर्ने गरी बिजबेल र फ्रान्सको बीडब्ल्यूआईबीच सम्झौता

काठमाडौं । जलविद्युत विकासमा अग्रसर निजी क्षेत्रको कम्पनी बिजबेल प्रालि र जलस्रोत क्षेत्रमा कार्यरत ब्ल्यू वाटर इन्टेलिजेन्स (बीडब्ल्यूआई) नामको फ्रेन्च कम्पनीबीच पेरिसमा एक रणनीतिक साझेदारीमा सम्झौता भएको छ।

सम्झौतामा बिजबेलका संस्थापक सुशील पोखरेल र बीडब्ल्यूआईका प्रमुख कार्यकारी अधिकृत जेरेमी फ्यानले हस्ताक्षर गरेका छन्। नेपालको जलस्रोत विकास तथा पूर्वानुमानका क्षेत्रमा यो सम्झौता एउटा कोशेढुंगा साबित हुने विश्वास गरिएको छ। किनकि यसले पानीको अध्ययन, अनुगमन र संरक्षणमा बढ्दै गएको चुनौतीलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा छ।

सम्झौतापछि बिजबेलका संस्थापक पाखरेलले बीडब्ल्यूआईको उच्च आधुनिक प्रविधिबाट नेपालका नदीहरुमा प्रवाह हुने हाइड्रोलोजीको सही मापन गर्न सकिने बताए। ‘यसबाट हामीले हाइड्रोलोजीको सही तथ्यांक प्राप्त गर्न सक्नेछौँ र जसले वास्तविक ऊर्जा उत्पादनको सही प्रक्षेपण गर्न ठूलो मद्दत पुग्नेछ’, उनले भने, ‘यसबाट हाम्रो विद्युत खरिदकर्तालाई समेत आफूले प्राप्त गर्ने विद्युतको लेखाजोखा गर्न सहयोग पुग्छ।’

यसैगरी बीडब्ल्यूआईका प्रमुख कार्यकारी अधिकृत फ्यानले नेपालको जलविद्युत क्षेत्रमा काम गरिरहेको लोकप्रिय कम्पनीसँग साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरे। दक्षिण एसियामा जनसांख्यिक वृद्धिका कारण सामाजिक संकट टार्न जलविद्युत विकास अपरिहार्य रहेको पनि उनले बताए।

‘जलविद्युत एक नवीकरणीय ऊर्जा भएको हुँदा यस क्षेत्रको विकासमा बिजबेलको समेत आफ्नै विज्ञता छ, जुन दिगो क्षेत्रीय विकासको महत्वपूर्ण कडी हुन सक्छ’, उनले भने, ‘बिजबेलसँग जोडिएर दक्षिण एसियाको स्वच्छ ऊर्जामा काम गर्न पाउनु हाम्रा लागि पनि सुखद् पक्ष हो।’

नेपालपछि बिजबेलसँगको साझेदारीमा अफ्रिकी देशहरुमा जलविद्युत विकास गर्ने लक्ष्य रहेको पनि फ्यानले बताए।

सोही क्रममा एसिया तथा दक्षिण प्रशान्त क्षेत्रको व्यापार हेर्ने संयोजक जिन फ्रान्कोइस अम्ब्रोसियोले बिजबेलसँगको साझेदारीले नेपालजस्तो हिमाली देश जहाँ जलविद्युत उत्पादनको प्रचुरता छ, त्यहाँ काम गर्न पाउने अवसरको सही सदुपयोग हुने बताए। यस क्षेत्रमा नेपाली कम्पनीसँग साझेदारी गर्न पाएकोमा पनि उनले खुसी व्यक्त गरे।

बीडब्ल्यूआई भूमिगत जलभण्डारको अनुगमन, अन्तरदेशीय पानीको गुणस्तर मापन र नदीको बहावको पूर्वानुमानका क्षेत्रमा काम गर्ने विश्वस्तरकै चर्चित कम्पनी मानिन्छ। जलस्रोत व्यवस्थापनको क्षेत्रमा यस कम्पनीले पृथ्वीमा उपलब्ध तथ्यांकलाई कृत्रिम बौद्धिकतामार्फत विभिन्न देशका सरकार र सम्बद्ध कम्पनीहरुलाई सहयोग गर्ने लक्ष्यका साथ काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *