काठमाडौं । समाजवादी मोर्चा नेपालको प्रथम बैठकले नेतृत्वमा ६ महिनो आलोपालो गर्ने निर्णय गरेको छ ।शनिबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चामा आवद्ध दलहरुको बैठकले ६÷६ महिनामा नेतृत्व परिवर्तन गर्ने समझदारी गरेको हो ।
बैठकले मोर्चाको अध्यक्षता ६/६ महिनामा पालैसँग गर्ने समझदारी गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । ‘एक जना (दल)ले ६ महिना गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको छ । लगभग समझदारी त्यही छ’, बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘थप टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ ।’
मोर्चाको बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यो कार्यक्रम कुन–कुन मितिमा हुने भन्ने कुरा आउँदो २७ गते बस्ने दोस्रो बैठकले तय गर्ने उपाध्यक्ष पाण्डेले बताए ।
त्यसैगरी बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि ४ सदस्यीय कार्यदल पनि गठन गरेको छ । उपाध्यक्ष पाण्डेका अनुसार माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा कार्यदलमा रहेका छन् ।
कार्यदलले तयार गरेको प्रतिवेदन २७ गतेको बैठकमा पेस हुने र पारित हुनेछ । कार्यदलले मोर्चा नीति, आचारसंहितालगायतसहित कार्यक्रमहरु तय गर्ने पाण्डेले बताए ।







