काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । सात दिनभित्र उक्त जग्गामा बनेका संरचना हटाउन अटेर गरे महानगर प्रहरीले हटाउने भएको छ ।
त्यस क्षेत्रमा घेराबारा गर्न पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डे त्यहाँ निर्मित संरचना हटाउन निर्देशन दिएका हुन् । राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका थिए ।
अहिले ललितानिवासको जग्गा यकिन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । ललितानिवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।
यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।
ललितानिवासको जग्गामा हाल करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् ।




