काठमाडाैं । ललितानिवास क्याम्पको एक सय ४३ रोपनी जग्गा हिनामिना गर्दा कर्मचारी र बिचौलियाले २२ रोपनी १० आना जग्गा घुस लिएको भेटिएको छ । प्रहरीका अनुसार १० कर्मचारी र दुई बिचौलियाले सो जग्गा बकसका रूपमा घुस लिएका हुन् ।
घुसबापत जग्गा लिने कर्मचारीमाथि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । सरकारको नाममा आइसकेको सो जग्गा नक्कली कागजपत्र बनाएर मालपोत कार्यालय मात्र होइन मन्त्रिपरिषद्लाई समेत प्रभावमा पारी सुवर्णशमशेर राणाका परिवारको नाममा लगिएको थियो । यसरी जग्गा फिर्तामा सहयोग गर्नेलाई राणा परिवारले घुसबापत जग्गा बकस दिएका थिए । सुवर्णशमेशरका परिवारले समेत यसको पुष्टि गरेका छन् ।
गत मंगलबार पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि राणासँग बक्सिसमा जग्गा लिनेमध्ये एक हुन् । उनले पाँच रोपनी दुई पैसा दुई दाम जग्गा श्रीमती उर्मिला शाहको नाममा लिएका थिए, जुन पछि बिक्री गरिसकेका छन् ।
उनीबाहेक मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्य, मालपोत विभागका शाखा अधिकृत प्रेमबहादुर खापुङ, राष्ट्रिय योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारी, डिल्लीबजार मालपोतका अधिकृत धर्मप्रसाद गौतम, नासु जगत पुडासैनी र डिल्लीबजार मालपोतका प्रमुख रहेका कलाधर देउजाले पनि जग्गा लिएका छन् । त्यस्तै, डिल्लीबजार मालपोतका मालपोत अधिकृत सुरेन्द्रमान कपाली, तत्कालीन नासु युक्तप्रसाद श्रेष्ठ र समरजंग कम्पनीका सहलेखापाल विनोदप्रसाद पौडेलले पनि जग्गा बकसका नाममा घुस लिएका छन् । उनीहरूमध्ये मुकुन्द आचार्य तथा युक्तप्रसादको मृत्यु भइसकेको छ । बिचौलियाद्वय रामकल्याण अधिकारी र रामकनाथ घिमिरे पनि यसरी जग्गा लिएका थिए ।
कर्मचारीहरू सबैले आफन्तको नाममा जग्गा लिएका छन् । सिआइबीले जग्गा बकस लिनेहरूको बयान लिइसकेको छ । जसक्रममा धैरेले राणा परिवारसँग जग्गा बकस लिने निकटता नभएपछि परिवारको आग्रहमा आफ्नो नाममा पास भएको बयान दिएका छन् ।
मालपोत विभागका पूर्वमहानिर्देशक मुकुन्दप्रसाद आचार्यले ज्वाइँ वैकुण्ठ शर्मा रेग्मीको नाममा एक रोपनी लिएका छन् । प्रेमबहादुर खापुङले श्रीमती खिमादेवी आङबुहाङ तथा सालोकी श्रीमती शशिकला सुब्बाको नाममा तीन रोपनी एक आना दुई पैसा जग्गा लिएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।







