काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-३ मदनपुर घर भई काठमाडौं टोखा नगरपालिका-३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले १ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई पानीजहाजमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई भएकाे भन्ने उजुरीकाे आधारमा प्रहरीले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार गरेकाे थियाे ।
त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-५ कालोपुलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




