काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ।
अब २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
आईपीओ निष्काशन अवधि छिटोमा असार २९ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन ९ गतेसम्म बिक्री अवधि तय गरिएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि—आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्राएनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।




