तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कारोबार र लगानी नगर्न सहकारी सञ्चालकलाई बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सहकारी सञ्चालकहरुलाई तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्न आग्रह गरेका छन् ।

उनले सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरुलाई निर्देशन दिएका छन् । सहकारी संस्था र संस्थाका सेयरधनी तथा बचतकर्तालाई अनुरोध गर्दै उनले मूल्यवृद्धि र मुद्रा स्फीतिले वित्तीय क्षेत्रमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “वित्तीय जोखिमबाट बचौँ, सहकारीहरूलाई सङ्कटग्रस्त हुनबाट बचाऔँ ।”

उनको स्ट्याटस जस्ताको त्यस्तै :

वस्तु र सेवाहरुको मूल्यवृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरुमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन् । तरलताको अभाव सृजना भएको सर्वविदितै छ । महानगरपालिकाको सहकारी विभागमा सेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।

यसका लागि कानुनले निर्दिष्ट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गरौँ।

सहकारी संस्थाहरुमा अनुरोध :
— तोकिएको समयमा सबै शेयर सदस्यहरुलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोवार बारे जानकारी गराउनुहोला । विश्वसनीयता र अपनत्व ग्रहण गराउनकालागि नियमित रुपले शेयर सदस्यहरुसँग सम्पर्क र संवाद बढाउनुहोला ।
— तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्नुहोला ।
— वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला।
— परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्नुहोला ।
— शेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला ।
— सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोवार भएको व्यक्तिहरुलाई मात्र जिम्मेवारी दिनुहोला ।
— कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला ।
— कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुहोला ।
— ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला ।
— जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला । जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला ।
— राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला।
— आफ्ना शेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *