काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटार एकता बस्तीस्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्थाले २४५ बचतकर्ताको ११ करोड रुपैयाँभन्दा बढी ठगी गरेको छ।
बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम फिर्ता नगरी ५ जना फरार भएका छन् भने ७ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा दायर गरेको छ। २४५ बचतकर्ताको ११ करोड २ लाख ९ हजार ८ सय ९३ रुपैयाँ ठगी गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको हो।
यो ठगी प्रकरणमा सहकारीका अध्यक्ष ७१ वर्षीय भानुकुमार शर्मा, उपाध्यक्ष ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, सचिव ५१ वर्षीय सोमलाल श्रेष्ठ, कोषाध्यक्ष ५८ वर्षीय रामकुमार श्रेष्ठ, सदस्य वीरबहादुर तामाङ र लेखापाल ३२ वर्षीय आशिष शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सदस्यहरु ५९ वर्षीय होमनाथ तिमिल्सिना, ३१ वर्षीया ज्ञानुकुमारी राई, ४० वर्षीय रामानुज शर्मा, ५० वर्षीया सबिता प्रधान र ४४ वर्षीय पुन्यप्रसाद प्रसाईं फरार छन्। उनीहरुलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।
यो सहकारीले करोडौं रुपैयाँ निक्षेप संकलन गरी ढुकुटी खेलाउने, व्यक्तिगत रुपमा शेयर खरिद बिक्री गर्ने, घरजग्गा खरिद बिक्री गर्ने सहकारी ऐन विपरित काम गरी संस्थालाई धरासायी बनाई बचतकर्ताको बिल्लीबाठ बनाएको भन्दै प्रहरीमा जोहरी परेको थियो।
विभिन्न मितिमा गरेर २४५ जनाले यो सहकारीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। आफूहरुले बचत गरेको रकम फिर्ता माग्दा ज्यान मार्ने सम्मको धम्की दिने गरेको पीडितहरुले बताएका छन्। संस्थाको पदाधिकारीहरुले आर्थिक प्रभावमा पारेर लेखापरीक्षणबाट गतल वार्षिक प्रतिवेदन तयारी पारी बचतकर्तालाई प्रलोभनमा पारी उल्टै बचत गर्न लगाउँदै ठगी गरेको प्रहरीको निष्कर्ष छ।
संस्थाको आय विवरणमा १६ करोड रुपैयाँ भन्दा बढी देखिएकाले थप बचतकर्ताहरुको जाहेरीसमेत आउनै बाँकी रहेको र जाहेरी आएपछि पुरक अभियोजनसमेत लैजाने प्रहरीले जनाएको छ।







