


काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ वटा निजी विद्यालयमध्ये ४६५ वटाले छात्रवृत्ति विवरण बुझाएका छन ।
निजी विद्यालयहरुले विवरण बुझाएको महानगरको इतिहासमा यो पहिलो पटक हो । विवरण नबुझाउँदा लक्षित बर्गका विद्यार्थीहरुले कानुनले तोकेको छात्रवृत्ति सम्बन्धी सुविधा प्राप्त गरे नगरेको भन्न कठिन थियो ।
सार्वजनिक सूचनामार्फत विवरण माग गरिएपछि विवरण प्राप्त भयो । त्यसबाट लक्षित वर्गका १३ हजार जनाभन्दा बढी विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरेका छन् । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका अनुसार उक्त सूचीको निरीक्षण पनि हुनेछ । मेयर बालेनले फेसबुकमा लेखेका छन्,- ‘प्राप्त विवरणमाथि निरीक्षण गरी यस सम्बन्धी सूची प्रकाशित गरिनेछ ।’
विवरण नपठाउने विद्यालयका सन्दर्भमा प्रतिक्रिया दिँदै प्रमुख शाहले लेखे, ‘हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइनेछ । त्यसपछि पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।’

अर्थ सन्जाल