काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मङ्गलवार दिउँसो मुटुको शल्यक्रिया गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम शल्यक्रिया गरी पेस मेकर राखिएको बताए । पेसमेकरले मुटुको चाल बनाइराख्ने काम गर्छ ।
गत शनिबार राति अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि राष्ट्रपति पौडेललाई अस्पताल पुर्याइएको थियो । त्यसयता निरन्तर चिकित्सकहरूको निगरानीमा अस्पतालको सीसीयूमा राखेर उपचार भइरहेकोमा मङ्गलवार दिउँसो मुटुको शल्यक्रिया भएको हो ।
यो संगै राष्ट्रपति पौडेल अढाई महिनामै पाँचौँ पटक अस्पताल भर्ना भएका
हुन् ।




