काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मर्जरको लागि नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएको छ ।
इन्स्योरेन्सले जेठ २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । प्राधिकरणबाट अन्तिम स्वीकृति प्राप्त गरेसँगै असार महिना भित्र एकिकृत कारोबार गर्ने गरी दुबै कम्पनीको संयुक्त मर्जर समिति, संचालक समिति र व्यवस्थापन समूह तयारीमा लागि लागेको हो ।
यी २ कम्पनीले “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को नामबाट एकीकृत कारोबार सुरु गर्नेछन् । संयुक्त मर्जर समितिको निर्णय अनुसार दुबै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी तयार गरिएको तथा एकिकृत कारोबार पछि प्रचलनमा ल्याइने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को लोगो समेत सार्वजनिक गरेको छ ।
प्रभु लाइफ र महालक्ष्मी लाईफको देशै भरी १६७ शाखा/उपशाखा संचालनमा भई ४४९ कर्मचारी कार्यरत रहेका छन् । प्रभु लाइफको बोनस सेयर जारी पछि दुबै कम्पनीको गरी ४२९.६ करोड चुक्ता पुँजी हुनेछ ।
बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पूँजीको लागि एकिकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मुल्यमा एफपिओ जारी गर्ने सहमति भएको कम्पनीले जनाएको छ ।




