काठमाडौं । काठमाडौंस्थित सामाखुशी चोकमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत ४ महिनादेखि बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सञ्चालक समितिका अध्यक्ष डीबी आलेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आलेलाई बचतकर्ताहरुले आज (शुक्रबार) प्रहरीको जिम्मा लगाएको हो । विगत १५ वर्षदेखि सञ्चालनमा आएको सहकारी समस्यामा परेपछि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । सो सहकारीमा करिब ६ हजार बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको २६ करोड रुपैयाँ निक्षेप रहेको छ । उक्त रकम जोखिममा परेपछि बचतकर्ता आक्रोशित भएका हुन् ।
बचतकर्ताहरू बढी आक्रोशित भएर सहकारी घेरेपछि घटना घट्न सक्ने सम्भावना देखेर उनीहरूलाई नियन्त्रणमा लिएर सुरक्षित राखिएको हो । केहीबेर बचतकर्ता र सञ्चालकबीच भनाभनको अवस्था समेत सिर्जना भएको थियो ।
सञ्चालक आलेले मनोमानी ढंगले ऋण परिचालन गरेको बचतकर्ताको आरोप छ । डीबी आलेले भने संस्थाको एके रुपैयाँ पनि हिनामिना नगर्ने बताएका छन् । उने अहिले लोन नउठ्दा बचत फिर्ता गर्न नसकेको स्वीकार गरे । लोन उठेपछि सबैको फिर्ता गर्ने उनको प्रतिबद्धता थियो ।
तर आक्रोशित बचतकर्ताहरुले भने कागजमा लेखेर आश्वासन दिलाए पनि रकम फिर्ता गर्ने नसकेको बताए । बचतकर्तालाई जग्गा दिन्छु भनेर झुलाए पनि जग्गाको विवरण भने नदेखाएको पीडित अनिता आचार्य बताउँछिन् । आलेले आफ्नो नामको सम्पत्ति समेत अन्य आफन्तको नाममा सारिसकेको बचतकर्ताको आरोप छ । औषधि खाने पैसा छैन दिनुहोस् भन्दा पाँच सय रुपैयाँ समेत नदिएको गुनासो बचतकर्ताको छ ।
अर्थ सन्जाल