


काठमाडौं । हङकङमा जारी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
मोङ कक मैदानमा टस जितेर पहिला बलिङ गरेको नेपालले ८७ रनमा पाकिस्तानलाई रोकेको थियो । जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।
ओपनर कविता कुँवर २० रनमा आउट भइन् भने कविता जोशीले नटआउट १५ रन बनाइन् । यसअघि नेपालका बलरहरूले राम्रो प्रदर्शन गर्दा पाकिस्तान १९।२ ओभरमा ८७ रनमै अलआउट भएको थियो ।
पाकिस्तानलाई नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २/२ विकेट लिए ।
इन्दुले लगातार २ बलमा २ विकेट लिइन् । पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन् ।
एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

अर्थ सन्जाल