सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता टिकाउन अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिइएको टिप्पणी गरेका छन्। शनिबार नेपाली कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तीन वटै अदालतको आदेश विपरीत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सत्ता टिकाउन चौधरीलाई आममाफी दिने कुराले लोतन्त्रलाई कमजोर बनाउने बताए ।

रेशम चौधरी जस्ता व्यक्तिहरुलाई आममाफी दिनुले लोकतन्त्र कमजोर हुँदै जाने नेता कोइरालाको बुझाइ छ । ‘तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मशी सुक्न नपाउँदै माफी दिनुभयो। हामी जस्ताले त्यसलाई कसरी हेर्ने ?,’ उनले भने, ‘यी कुराहरू अत्यन्त गम्भिर हुन्छन् भोलिका दिनमा । सरकार टिकाउन यी कुराहरू गर्दाखेरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरूरी छ।’

टिकापुर नरसंहारका दोषी ठहर गर्दै सर्वोच्चले उच्च अदालतको आदेश सदर गरेको केही दिनपछि जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसर पारी चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

फरक प्रशंगमा नेता कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णय गलत भएको बताए । निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठने गरी सरकारले सो निर्णय गरेकाले आफूहरूले विरोध गर्नु परेको उनको तर्क थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *