यी हुन् ऋणीलाई बिल्लीबाठ बनाउने ‘खुंखार’ मिटरब्याजीहरु

काठमाडौं । मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले बनाएको आयोग अहिले आफ्नै काममा व्यस्त छ । तराईका विभिन्न जिल्लाबाट गत चैत दोस्रो हप्ता ११ दिन पैदल हिँडेर न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुसँग भएको सम्झौता बमोजिम गठित आयोगले प्राप्त उजुरीमाथि अध्ययन गर्ने काम गरिरहेको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उत्तमराज सुवेदी र गणेशबाबु अर्याल सदस्य रहनेगरी बनेको आयोगले जेठ १४ सम्म पीडितबाट उजुरी लिएको थियो ।

निरक्षर, गरिब तथा आर्थिकरूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुश्चक्रमा फसाई विभिन्न ढङ्गले शोषण गरेको भन्ने समस्या समाधानका लागि तीन महिनाको समयसीमा पाएको जाँचबुझ आयोगले असार २० भित्रमा सरकारलाई प्रतिवेदन बुझाउँदै छ ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि भन्दै सरकारले समिति बनाएको यो पहिलो पटक भने होइन । यसअघि गत साउनमा पनि सरकारले नवलपरासीका करिब ८० जना पीडितले काठमाडौं आएर धर्ना दिएपछि कार्यदल बनेको थियो । मिटरब्याजी परिवारको सम्पत्ति छानबिन गर्नेदेखि आवश्यक कानुन बनाउन सिफारिस गर्नेसम्मको जिम्मेवारी पाएको थियो ।

उक्त कार्यदल पुस १९ गते बुझाएको प्रतिवेदनमा विद्यमान कानूनअन्तर्गत मुलुकी अपराध संहिता, २०७४ मा ‘मिटर ब्याज असुली गरी ठगी गर्न नहुने’ दफा थप गर्न कार्यदलले सरकारलाई सुझाव दिएको थियो । यही कार्यविधि र कानूनी व्यवस्थाले मिटरब्याज पीडितलाई न्याय दिन जटिल रहेको कार्यदल प्रतिवेदनको निष्कर्ष थियो ।

कार्यदलको निष्कर्ष र सुझावअनुसार कानुन संशोधन तथा परिमार्जन हुन नसकेको प्रतिफलस्वरुप गत चैत १२ गते ११ दिनको पैदल हिँडेर तराई मधेसका मिटर ब्याजपीडित काठमाडौं आइपुगेका थिए । उनीहरुले एक हप्ताभन्दा लामो आन्दोलन गरेपछि चैत्र १८ गते सरकारसँग पाँच बुँदे सहमति भएको दुई दिनमै अर्को टोली काठमाडौं आयो । उनीहरुसँग पछि सरकारले पटक पटक छलफल गरेको थियो ।

सरकारले यसरी पटक पटक मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि समिति बनाएर र अध्ययन गरेपनि मिटरब्याजीको हालिमुहाली भने अझै उस्तै रहेको पीडितको गुनासो छ ।

को हुन् मिटरब्याजको सुरुवात गर्नेहरु ?

मिटरब्याजको समस्या अहिले बल्झिएको भएपनि यसको सुरुवात दशकौं पहिला नै भएको पाइन्छ । समयको बदलाबसँगै फरक नामबाट हुँदै आएको कारोबारलाई अहिले मिरटब्याजका रुपमा चित्रण गर्ने गरिएको छ ।

पञ्चायत कालमा डिठ्ठा, जिम्माल भनिने हुनेखाने वर्गले निम्न वर्गका जनतालाई घरखेत धितो राखेर ब्याजमा केही रकम दिने र पछि ब्याजको स्याजसमेत जोडेर बिल्लिबाठ बनाउने प्रथा नै मिटरब्याजका रुपमा अहिले विकसित भएको जानकारहरु बताउँछन् ।

मिटर ब्याजको सुरुवात गर्ने मध्येका एक ललितपुरका नरेन्द्र डंगोल पनि रहेका स्रोत बताउँछ । नाम नखुलाउन आग्रह गर्दै एक पीडितले आफूलाई सुकुम्बासी बनाउने मिटरब्याजी अहिले पनि खुलमखुला हिँडिरहेको बताए । उनले ललितपुरका नरेन्द्र डंगोलको नामै लिएर आफूलाई डंगोलले कंगाल बनाएको आरोप लगाइन् ।

‘मेरो नाम चाहिँ नखुलाउनु होला । तर मलाई मिटरब्याजमा कारोबार गर्नेहरुले धेरैले कंगाल बनाएका छन्’, उनले भनिन्, ‘ललितपुरका नरेन्द्र डंगोलले मलाई सुकुम्बासी बनाएका छन् ।’ ती पीडितका अनुसार डंगोलले अनुचित लेनदेनबाटै अकुत सम्पत्ति कमाएका छन् ।

यस विषयमा बुझ्दा डंगोल स्वयंले घुमौरो पारामा आरोपलाई स्वीकारे । उनले विगतमा सहकारीमार्फत ब्याजमा पैसा दिने गरेको बताए । ‘पहिला म सहकारीमा थिए । सहकारीमा हुँदा ब्याजमा लगानी चाहिँ गर्थे । तर अहिले म सहकारी छोडिसेँ । त्यसयता सबै छाडिसकेँ’, उनले भने, ‘ब्याजमा भन्दा पनि अझ नाफासाफाको हिसाबकितामा हुन्थ्यो । त्यसबेला धेरै नाफा ख्वाउनुपर्यो भनेर मिटर ब्याजको कुरा गरेको होला ।

डंगोलले पहिलो धेरैसँग कारोबारमा विवाद भएपनि अहिले सल्टिसकेको बताए । ‘कसैले ब्याज तिर्न नसक्नेलाई पनि ल साँवा मात्र तिर भनेर छोड्दिएँ’, आफ्नो बचाउ गर्दै उनले भने ।

स्तम्भ सहकारीका अध्यक्ष रहेका डंगोलले त्यहाँबाट आफू हटेको दुई कार्यकाल हुन लागेको बताए । अहिले उनी ‘रियल स्टेट’मा संलग्न छन् । सुपर हाउजिङ कम्पनीमार्फत उनले जग्गा प्लटिङ गर्दै आएको बताए ।

यसैगरी राप्रपा नेता एवं प्रतिनिधिसा सांसद दीपक सिंहका सहोदर भाइ महेश कुमार सिंह पनि मिटरब्याज कारोबारमा संलग्न रहेका पीडितहरुको आरोप छ । मकवानपुरका सिंह काठमाडौंमा बस्दै आएका छन् । उनी पनि मिटरब्याज कारोबारमा संलग्न रहेको आरोप अर्का एक पीडितले लगाएका छन् । यसैगरी बानेश्वरका वीरेन्द्र श्रेष्ठको नाम पनि मिटरब्याजीमा मुछिएको छ । नाम नखुलाउन भन्दै ती पीडितले भने, ‘कुनै समयमा बनेपाको गाडीमा सहचालकको काम गर्दै आएका उनी अहिले मिटरब्याजको कारोबार गरेर अर्बपति बनेका छन् । उनकै कारणले सयौं मानिस सडकमा आएका छन् ।’

धरानका धनन्जय आचार्यको नाम पनि मिटरब्याजीमा मुछिएको छ । उनका कारणले धरानका एक व्यक्तिले झुण्डिएर आत्महत्यासमेत गरेका आरोप छ भने धेरै घरबारविहीन बनेका बताइएको छ । लाजिम्पाटका प्रकाशराज मानन्धरले पनि मिटरब्याजको कारोबार गर्ने गरेका बताइएको छ । उनीमाथि पैसाको आडमा महिलामाथि दुर्व्यवहार गर्ने प्रयास गरेको अरोपसमेत छ ।

त्यसो त मिटरब्याजीहरुका संरक्षक राजनीतिक दल र दलकै नेताहरु रहेको पीडितहरु बताउँछन् । मिटरब्याजीहरुले अनुचित कारोबारबाट उठाएका रकमको केही हिस्सा संरक्षकलाई बुझाउने र तीनकै संरक्षणमा गैरकानुनी धन्दा चलाउने गरेका पीडितहरुको आरोप छ । लामो समयदेखि उठ्दै आएको विषय भए पनि अहिलेसम्म निराकरण हुन नसक्नुको कारण पैसा र पहुँच नै हो भन्न कुरा पीडितहरुको यी नै आरोपबाट पुष्टि हुन्छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *