


काठमाडौं । ग्राहकहरुलाई समयानुसार विभिन्न सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले दिगो घर कर्जा योजना ल्याएको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ तारिखको पूर्व सन्ध्यामा दिगो घर कर्जा योजना (Nabil Sustainable Housing Loan) को स्किम अघि सारेको हो ।
दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको नबिल बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै दिगो घर कर्जा योजना ल्याएको हो । बैंकको उक्त योजनाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने विश्वास बैंकले गरेको छ । वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर घर निर्माण गर्न चाहने ग्राहकहरूले यस योजना अन्तर्गत आवास कर्जा लिन सक्नेछन् ।
सहुलियत दरमा कर्जा
बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले बैकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन । त्यस्तै, स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार सात बर्षभन्दा बढि अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र सात बर्ष पछि बाँकी अवधिमा सात वर्ष पश्चात्को आधार दरमा १ दशमलब ५ प्रतिशत जोडि हुने ब्याजदरमा प्राप्त गर्न सकिनेछ ।
अन्य सुविधा के छन् ?
यस स्किमअन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउने बैंकले जनाएको छ । बैंकका अनुसार १ वर्षलाई दुई लाखसम्मको निशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराईनेछ । यस कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्ष सम्ममा चुक्ता गर्न सक्नेछन् । यो कर्जा योजना बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने छ ।
कर्जा पाउन के गर्ने ?
यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गई रहेको घरको हकमा घरको नक्सा पास पेस गर्नुपर्ने छ । उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामाग्रीहरू जस्तै सिएफएल, एलइडी लाइटहरूको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनुपर्ने उल्लेख छ ।
यो कर्जा, वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर नयाँ घर निर्माण गर्न, वा निर्माण भइसकेको घर खरिद गर्न, अन्य वित्तीय संस्थाबाट कर्जा लिइ वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी निर्माण भइसकेको घरको कर्जा स्वाप गर्न तथा यस बैंक बाट घर कर्जा उपयोग गरिरहेका ग्राहकहरूले निर्माण भई सकेको घरमा वातावरण मैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मत सम्भार गर्न थप कर्जा चाहिएमा प्राप्त गर्न सक्नेछन्।
यस कर्जा उपयोग गर्ने प्रक्रिया अन्य घर कर्जाहरू जस्तै सरल हुनेछ । न्यूनतम कर्जा सीमा रु सात लाख र अधिकतम सीमा रु पाँच करोड हुनेछ ।
दिगो बैंकिङ क्षेत्रमा सधै सक्रिय
नबिल बैकले दिगो बैंकिङ क्षेत्रमा विभिन्न कार्य गर्दै आइरहेको छ । नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा स्थापित यस बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पनि विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।
‘नबिल बैंक सँगै अघि’ भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर अघि बढिरहेको बैंकले ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर बैंकले आफ्नो पृथक चिनारी बनाएको छ।
यस बैंकले दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिँदै आइरहेको छ । सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङको सुरु गरेको थियो।
सन् १९८४ बाट सञ्चालनमा आएको नबिल बैंक अहिले डिजिटल बैंकिङ तथा फाइनान्सियल टेक्नोलोजीमा अग्रणी बैंकका रुपमा स्थापित भएको छ।

अर्थ सन्जाल