


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आफ्नो भारत भ्रमण विगतको परिणाममुखी भएको दाबी गरेका छन् । चार दिने भारत भ्रमण पूरा गरी शनिबार साँझ स्वदेश फर्किएका उनले आफ्नो भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको बताएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रमण विगतको भन्दा परिउणामुखी भएको छ, कामकाजी भएको छ, आर्थिक क्रियाकलाप र द्विपक्षीय सहयोगको क्षेत्रमा बढी केन्द्रित भएको छ ।’
भारत भ्रमणअघि आफूले जे सोचेको त्यो मूलभूत रुपमा पूरा भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘यो भ्रमण जे भनेर गएको थिएँ, मूलभूत रुपमा सोचेको कुरा पूरा भएको छ, केही महत्वपूर्ण दूरगामी सहमति समझदारी भएका छन्’ उनले भने ।
उनले दुई देशको नेतृत्व तहमा विश्वासको वातावरण बनेको पनि बताए । पहिले विश्वासको संकटजस्तो देखिएको तर आफ्नो भ्रमणपछि नेतृत्व लेभलमा विश्वासको वातावरण बनेको उनले बताए ।
ऊर्जा व्यापारमा लामो अवधिको सम्झौता हुनु,पारवहन सम्झौता हुनु, रेलमार्ग, पुल निर्माण सुख्खा बन्दरगाह भारतले अनुदानमा बनाउन तयार हुनुजस्ता कुराले विश्वासको वातावरण बनेको प्रधानमन्त्रीको भनाइ छ ।

अर्थ सन्जाल