महालक्ष्मी कर्पोरेट क्रिकेट लिग श्रृंखला २ को आयोजना हुने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३ शृंखला २’ आयोजना हुन लागिरहेको छ ।

बैंकले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गर्न लागेको हो । यही जेठ २० गते शनिबारदेखि २२ गते सोमबार (३ दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाउने छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र बैंकका साहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले जर्सी सार्वजनिक गरेका थिए । क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरुका बारेमा प्रकाश पार्नुका साथै समूह विभाजन गरेका थिए ।

पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले यस क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाहरुबीच भाइचारा, आत्मीयता, सद्भाव र मित्रता बढाउन थप सहयोग पुग्ने बताए ।

लिग कम नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । जसबाट समूहको उत्कृष्ट हुने दुई समूह क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।

खेल १० ओभर प्रतिइनिंग्सको हुनेछ। प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *