काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा लगानी गरेका कुनै पनि लगानीकर्तालाई आयकरको दायरामा व्यवस्था नभएको बताएका छन् ।
अर्थमन्त्री महतले बुधबार बिहान सेयर बजारका लगानीकर्ताहरुलाई सम्बोधन गर्दै सेयर लगानीकर्तालाई नआत्तिकन लगानी गर्न आग्रह गरेका हुन् ।
उनले आयकरको दायरामा सेयर बजारका लगानीकर्ता पनि आउने भनेर भ्रम छरिएको पनि बताए । सेयर बजारबाट घाटा व्यहोरेका लगानीकर्तालाई कर नलगाउने समेत उनले स्पष्ट पारे ।
उनी भन्छन्, ‘सेयर बजारमा लगानी गरेका आम लगानीकर्ता कसैलाई पनि इन्कम ट्याक्सको दायरामा ल्याइएको छैन । ९९.९९ प्रतिशत लगानीकर्ता कोही पनि अतिरिक्त करको दायरमा पर्दैनन् । अब घाटामा कर तिर्नुपर्दैन । बैंकको ब्याज भन्दा अलि बढी फाइदा हुन्छ कि भनेर सेयर बजारमा आउने कोही पनि थप करको दायरामा आउँदैनन्, उनीहरुले थप कर तिर्नुपर्दैन ।’
अर्थमन्त्रीले लगानीकर्ता आत्तिनु नपर्ने र कसैले पनि दोहोरो कर तिर्नु नपर्ने तथा आयकरको दायरमा नआउने बताएका हुन् ।
यता सेयर लगानीकर्ताहरुले व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम गरिदिन माग गरेका छन् ।
लगानीकर्ताहरुले आर्थिक विधेयक २०८० को बुँदा नम्बर २९ मा भएको ‘धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्था’कर विभागको २०७७ असार ५ गतेको पत्र विपरीत रहेको पनि बताएका छन् ।




