


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सोमबार ल्याएको बजेटबारे विभिन्न प्रतिक्रिया दिएका छन् । सत्तासीन दलका सांसदहरुले बजेटको समर्थन गर्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बजेटले मुलुकको वर्तमान आर्थिक संकट समाधान नगर्ने टिप्पणी गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको बजेट भाषणपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा संक्षिप्त प्रतिक्रिया दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले आर्थिक संकटको समाधान नदिने बताए । बजेटले संकेत दर्शाउने गरेपनि समस्याको समाधान नदिने उनको भनाइ थियो । ‘बजेटले संकेत दर्शाउँछ तर संकटको समाधान केही पनि दिँदैन,’ उनले भने ।
पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष बिष्णु पौडेलले पनि बजेटले आर्थिक संकटको नाडी छाम्न नसकेको प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया दिँदै पौडेलले मुलुकको आर्थिक समस्या र चुनौती एकातर्फ बजेट अर्कोतर्फ रहेको बताए ।
‘बजेटले अहिलेको समस्या समेट्दैन । अर्थतन्त्रको संकटलाई समाधान गर्ने पाटो छैन,’ उनले भने,‘समग्रमा भन्दा बजेटले अर्थतन्त्रको नाडी छाम्नै सकेन ।’ १७ खर्ब ५१ अर्बको बजेटमा स्रोत व्यवस्थापनको सुनश्चितता नै नभएको उनको दाबी छ ।
‘खर्चको अनुमान आयो । राजश्व परिचालनको सम्भावना पनि छैन,’ उनले भने,‘६ प्रतिशत आर्थिक वृद्धिदर सम्भावना नै छैन । बजेटमा नारा नै नारा छ । कार्यान्वयन हुने आधार देखिँदैन ।’
मुलुकमा आवश्यक नै नभएको हरेक क्षेत्रको लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको व्यवस्था राख्नु गलत भएको बताए । ‘जनप्रतिनिधि विधायीकामा केन्द्रित हुने हो । आयोजना छान्ने काम सांसदको होइन,’ पौडेलले भने,‘यसले विकृति निम्त्याएकोले हामीले स्थगित गरेका थियौं । फेरी ब्यूँताउने काम भएको छ ।’
तत्कालीन अर्थमन्त्री पौडेलले नै आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले पनि बजेटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) राख्नु गलत भएको बताएकी छिन् । बजेट भाषण आउनुभन्दा अघि नै उनले संसद विकास कोष ब्युत्याउने प्रयत्न भएको भन्दै खबरदारी समेत गरेकी थिइन ।
उनले खबरदारी गरे पनि सांसद विकास कोष ब्युँतिएपछि आपत्ति जनाउँदै उनले भनेकी छन्– ‘गलत गलत गलत निर्णय। सांसदको काम के हो अर्थमन्त्री ज्यु ? किन भौतिक प्रोजेक्टको मैनेजर बनाउन खोज्नू भएको ? किन स्थानीय सरकारको कार्य गर भन्ने। किन चुनाव लक्षित बजेटरु नीतिगत भ्रष्टाचार लाग्छ – सांसद विकास कोष।’
यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताएका छन् । उनले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यो बजेट चुरे दोहन गर्ने, महाभारत बगाउने खालको छ, यसको हामीले बिरोध गर्छौं, मल खादको प्रत्याभूति गरिएको छैन। सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा राम्रो छैन, पूँजीसँगै विदेशी सेना आउनेछ।’
उनले बजेटमा मल खादको प्रत्याभुति नगरिएको बताए । उनले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा उपयुक्त नहुने बताए । उनले सार्वजनिक संस्थाहरु कसरी चलाउने भन्ने विषय राम्रोसँग नआएको बताए ।
यता बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्वमन्त्री एवं एमाले सांसद शेरबहादुर तामाङले भने खुसी व्यक्त गरेका छन् । नेपालमा गाँजाको वैधानिक र व्यावसायिक खेतीका लागि वकालत गर्दै आएका उनी बजेटबारे प्रतिक्रिया दिँदै यसलाई गाँजाखेतीको वैधानिकतामा पहिलो खुट्किलो भएको बताउँछन् । उनले भने– “सरकार र समर्थनलाई धन्यवाद । हामी सबैलाई बधाई ।”

अर्थ सन्जाल