नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १८ करोड रूपैयाँ नाफा कमाएको थियो । भने यो वर्ष ६ महिनामै १२ अर्ब नाफा कमाएको प्राधिकरणले जनाएको छ ।
चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ । यो सँगै सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ ।
आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वाषिर्क घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो ।
प्राधिकरणले चालू आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमश: विद्युत बिक्री र खरिदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायहरूको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ ।
प्राधिकरणको पुँजीकृत सम्पत्ति एक खर्व ६५ अर्व, पुँजीकृत हुन बाँकी सम्पत्ति एक खर्व ५२ अर्व, सहायक कम्पनीहरूमा लगानी ३५ अर्व ३४ करोड र ऋण लगानी ३२ अर्व ५० करोड रहेको छ । तरल पुँजी ८५ अर्व एक करोड रहेको छ ।
विद्युत निर्यात बढ्यो, आयात घट्यो
आघिल्लो वर्षहरूको तुलनामा चालू आवको ६ महिनामा नेपालमा खपत भएर बढी रहेको विद्युत भारततर्फ निर्यात बढेको छ भने अपुग विद्युतको आयातको परिमाण घटेको छ । गत आवमा ३१ करोड ६० लाख रुपैयाँको विद्युत भारत निर्यात भएकोमा चालू आवको ६ महिनामै ८० करोड ५० लाख रुपैयाँको विद्युत निर्यात गरिएको छ । ऊर्जाका आधारमा गत आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महिनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ ।
आव २०७६/७७ मा १३ अर्ब ४२ करोड रुपैयाँको विद्युत आयात भएकोमा गत आवमा बढेर २१ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । तर, चालू आवको ६ महिनामा दुई अर्ब ५८ करोड रुपैयाँको मात्र विद्युत आयात भएको छ । माघ, फागुनमा आयात केही बढ्ने भए पनि यस वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए । यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब दुई सय मेगावाट विद्युत माग बढेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ६६० मेगावाट विद्युत प्रणालीमा थपिएको छ ।






